कोरोनाका कारण छायाँकार भीम रानाको निधन

काठमाडौँ । वरिष्ठ चलचित्र छायांकार भीम रानाको निधन भएको छ । करिब एक महिना यता कोरोना सङ्क्रमणका थालिएका उनको मंगलबार बिहान निधन भएको हो । करिब ६० वर्षका उनको आज बिहान ८ : ३० बजे वीरेन्द्र अस्पताल छाउनीमा निधन भएको हो । उनका श्रीमतीसहित एक छोरा र छोरी छन् । उनका दुवै सन्तान अमेरिकामा बस्दै आएका छन् । छोरा बुधबार नेपाल फर्किएसँगै उनको दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
पत्रकार कुबेर गिरीले सामाजिक सञ्जालमा पोस्ट गर्दै रानाको निधनको खबर पुष्टि गरेका हुन् ।
त्यस्तै, निर्देशक विजय रत्नले भिमलाई सम्झिँदै उनी कुशल छायाँकारसँगै सरल व्यक्तित्वको धनी भएको बताएका छन् । भीमसँग उनले चलचित्र ‘वीर गणेशमान’ मा काम गरेको स्मरणसमेत गरेका छन् ।
अभिनेता भुवन केसी, गायिका सपना श्री, गायिका देवीका वन्दना, कलाकार विक्रान्त बस्नेत, निर्देशक रक्षा राणा, निर्देशक तथा कलाकार दीपा श्री निरौला, निर्देशक दीपेन्द्र लामा लगायतले उनको आत्माको शान्तिको कामना गरेका छन् ।
रानाले सम्झना, निसाना, राज्य, लाल सलाम, लभ कुशलगायत चर्चित चलचित्र छायाङ्कन गरेका छन् । साथै उनले चलचित्र माइली निर्माण समेत गरेका थिए ।








