पोखराका पर्यटन व्यवसायीले पाए खोप

पोखरा । पर्यटकीय राजधानी पोखराका पर्यटन व्यवसायीलाई सरकारले विशेष सुविधाका साथ खोप उपलब्ध गराएको छ । व्यवसायीहरूले गरेको निरन्तर आन्दोलनपछि सरकारले पर्याप्त खोप उपलब्ध गराएको हो । बिहीबारदेखि व्यवसाय केन्द्रित खोप वितरण सुरु भएको छ ।
बिहीबार पोखरा पर्यटन परिषद्मार्फत २ हजार पाँच सय जनाले खोप लगाएका छन् । आवश्यकताअनुसार नियमित उपलब्ध हुने अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिए । उनका अनुसार उद्योगी, व्यवसायीहरूले समेत खोप पाउँदैछन् ।
गण्डकीका पर्यटनमन्त्री मणिभद्र शर्मा र कानूनमन्त्री बिन्दुकुमार थापाले खोप केन्द्रहरुको निरीक्षण गरेर सहज रुपमा वितरण गर्न निर्देशन दिए । मन्त्री शर्माले अरु जिल्लाका पर्यटन व्यवसायीलाई पनि खोप उपलब्ध हुने बताए ।
‘खोपको कारणले कोही पनि निराश नबन्नु, सरकारले जसरी पनि उपलब्ध गराउँछ,’ उनले भने, ‘उच्च मनोबलका साथ आफ्नो पेशा र सेवामा खटिनुहोला ।’ पर्यटनसँग सम्बद्ध विभिन्न संघ संस्थाहरूको समन्वयमा खोप कार्यक्रम पर्यटन बोर्डको परिसरमा चलाइएको हो । खोप पाएपछि पर्यटकलाई स्वागत गर्न आफूहरू तयार रहेको नाट्टा गण्डकीकी महासचिव कमला गिरीले बताइन् ।








