आर्थिक श्वेतपत्र सार्वजनिक : सरकारी कोष १ खर्ब ४३ अर्ब घाटामा (पूर्णपाठसहित)

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७७/७८ को अन्त्यमा सरकारी कोष १ खर्ब ४३ अर्ब रुपैयाँले घाटामा रहेको बताएका छन् । संसदमा आर्थिक श्वेतपत्र प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले यस्तो तथ्य सार्वजनिक गरेका हुन् ।
‘वि.स.२०७४ चैत्रमा तात्कालिन सरकारले जारी गरेको श्वेतपत्रमा सो आर्थिक वर्षको अन्त्यमा कोष रु.४८ अर्बले सञ्चित घाटामा रहेको उल्लेख छ,’ आर्थिक श्वेतपत्र प्रस्तुत गर्दै उनले भने, ‘तर त्यसमा सुधार आउनुको सट्टा यस्तो घाटा आर्थिक वर्ष २०७६/७७ मा रु.२ खर्ब १६ अर्ब पुगेको थियो । यसरी हेर्दा आर्थिक वर्ष २०७७/७८ को अन्त्यमा कोष रु. १ खर्ब ४३ अर्बले घाटामा रहने देखिएको छ ।’
अर्थमन्त्री शर्माले अघिल्लो सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक श्वेत पत्रमा देशको वास्तविक भन्दा पनि अवास्तविक तथ्य सार्वजनिक गरेको आरोप लगाएका छन् ।
उनले अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्न प्रतिस्थापन विधेयक चाडैं पेश गर्ने समेत जानकारी गराए ।
अर्थमन्त्री शर्माले अघिल्लो सरकारले जारी गरेको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्न विधेयक ल्याउने जानकारी दिए । ‘सत्ता सहयात्री दलहरुबीचको साझा न्यूनतम कार्यक्रम, वर्तमान सरकारको नीति र प्राथमिकता, जनचाहना तथा कोभिड– १९ महामारीको कारण सिर्जित चुनौती समेतको सम्बोधन हुने गरी सुधार गर्न छिट्टै नै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नेछु,’ उनले भने ।
कोभिड १९ महामारी नियन्त्रण नयाँ सरकारको प्राथमिक कर्तव्य भएको उल्लेख गर्दै मन्त्री शर्माले २०७८ साउन २५ गतेसम्म ४५ लाख २५ हजार ४ सय ३५ जनाले पहिलो र २६ लाख ६ हजार ४६ जनाले पूर्ण मात्रा खोप लगाइसकेको तथ्य प्रस्तुत गरे । उनले हालसम्म करिब १ करोड डोज खोप नेपाल भित्रिएको बताए ।
मन्त्री शर्माले भूकम्पबाट प्रभावित अर्थतन्त्र विस्तारै सकारात्मक दिशातर्फ अघि बढिरहेको अवस्थामा कोभिड–१९ महामारीले पुनः शिथिल बन्न पुगेको बताए ।
यस्तो छ अर्थमन्त्री शर्माले संसदमा प्रस्तुत गरेको आर्थिक श्वेतपत्रको पूर्णपाठ









