निफ्राले ‘स्काइ वाक टावर’ परियोजनामा साढे ६७ करोड लगानी गर्ने

काठमाडौं । नेपाल नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले ‘स्काइ वाक टावर’ परियोजनामा ऋण लगानी गर्ने भएको छ । वोन्डर्स ग्रुपले काठमाडौंको कमलादी र धनकुटाको भेडेटारमा निर्माण गरिरहेको उक्त ‘स्काई वाक टावर’ परियोजनामा निफ्राले ६७ करोड ५० लाख रुपैयाँसम्म ऋण लगानी गर्ने सम्बन्धी सम्झौता भएको हो । सोमबार उक्त सम्झौता पत्रमा दुबै पक्षले हस्ताक्षर गरेका हुन् ।

उक्त परियोजना अन्तर्गत वोन्डर्स ग्रुपले कमलादीमा ७८ मिटर अग्लो ‘स्काई वाक टावर’ निर्माण गर्ने छ । उक्त टावरमा योगा स्थल, रेस्टुरेन्ट लगायतका मनोरञ्जनात्मक क्रियाकलापका लागि पूर्वाधार निर्माण गरिने छ । उक्त टावरबाट काठमाडौं उपत्यका को रमणीय दृष्य शिशा को सतहबाट अवलोकन गर्न सकिने प्रवद्र्धक कम्पनीले जनाएको छ ।

त्यस्तै, धनकुटाको भेडेटारमा निर्माणाधीन ‘स्काई वाक टावर’ सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत निर्माण गर्न लागिएको जनाएको छ ।

प्रदेश १ सरकारको लगानी प्राधिकरण र परियोजना निर्माणकर्ता बिच भएको परियोजना विकास सम्झौता अनुरुप निर्माण हुन लागेको उक्त परियोजना देशको पूर्व भूभागको मुख्य पर्यटकीय स्थलको रुपमा परिचित भेडेटारमा थप आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मद्दत गर्ने जनाएको छ ।

बैंकले दुईवटै परियोजनाहरु निर्माणका लागि रु. ६७ करोड ५० लाख बराबरको ऋण लगानी गर्ने सीमा स्वीकृत गरेको जनाएको छ ।

बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, नायब प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेलगायतका बैंकको पदाधिकारीहरुको उपस्थिति थियो ।

परियोजनाको तर्फबाट अध्यक्ष प्रबेन्द्र पोखरेल, सञ्चालक पदमप्रसाद न्यौपाने, सञ्चालक तेजबाहादुर सिंह, सञ्चालक खेम राज न्यौपाने लगायतका संचालक र व्यवस्थापन समूहको उपस्थिति रहेको थियो ।

कार्यक्रममा निफ्राका सीईओ रामकृष्ण खतिवडाले यस्तै किसिमका पूर्वाधार निर्माणमा वित्तीय पहुँच पुर्याउन निफ्राको स्थापना भएकोले भविष्यमा समेत यस्ता नवीन सोचका परियोजना अघि बढाउन सहयोग गर्ने बताए ।

त्यस्तै प्रवद्र्धक कम्पनीका अध्यक्ष प्रबेन्द्र पोखरेलले परियोजनाको निर्माण कार्य द्रुत गतिमा सकी सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 14 =