चिलिमे जलविद्युत् कम्पनीको नाफा घट्यो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको खुद नाफा घटेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ मा ७० करोड १८ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको जनाएको छ ।
अघिल्लो वर्ष २०७६/७७ ७४ करोड ५५ लाख ९० हजार रुपैयाँ नाफा गरेको थियो । कम्पनीको नाफा ४ करोड ३७ लाख ५६ हजार रुपैयाँले कम भएको हो ।
कम्पनीले विद्युत बिक्रीबाट गत आर्थिक वर्ष १ अर्ब १२ करोड ८० लाख ५२ हजार रुपैयाँ आम्दानी गरेको थियो । तर, अघिल्लो वर्ष कम्पनीको यस्तो आम्दानी १ अर्ब १४ करोड ७ लाख ३९ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी समेत घटेर ११.१७ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १६१.४० रुपैयाँ रहेको छ ।
गत वर्ष आयोजनाको विद्युत् गृह बन्द गरेर उपकरण तथा सफ्टवेयरहरु परिवर्तन तथा सृदृढिकरण गरेकोले विद्युत् बिक्रीबाट हुने आम्दानी घटेको कम्पनीले जनाएको छ । त्यस्तै आयोजना सञ्चालित खोलामा पानीको बहाब घटेका कारणसमेत विद्युत् उत्पादन कम भएको थियो ।
यद्यपी, २२ मेगावाट क्षमताको आयोजना सञ्चालन गरिरहेको उक्त कम्पनीले २ सय ७० मेगावाटका थप ४ ओटा कम्पनीमा लगानी विस्तार गरेको छ । रसुवागढी, साञ्जेन, माथिल्लो साञ्जेन र मध्यभोटेकोसी आयोजना निर्माणाधीन अवस्थामा छन् ।









