सेवा निवृत्त हुन लागेका राजस्व सचिव पुडासैनीकाे बिदाइ

काठमाडौं । अर्थमन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनी आइतबारबाट सेवा निवृत्त हुन लागेका छन् । शुक्रबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी सचिव पुडासैनीको बिदाइ गरिएको छ ।
अर्थ मन्त्रालय र सम्बद्ध निकायमा ३३ वर्ष काम गरेर सेवानिवृत्त भएका राजस्व सचिव पुडासैनीको विषयगत विज्ञताको प्रशंसा गर्दै अर्थमन्त्री जनार्दन शर्माले त्यसलाई राज्यले आगामी दिनमा पनि उपयोग गर्ने बताए ।
मन्त्री शर्माले जनताको पसिनाको थोपा थोपाबाट संकलन भएको राजस्वको न्यायपूर्ण वितरण हुने गरी नीति बनाउन मातहतका कर्मचारीलाई निर्देशन दिए । संविधानले निर्दिष्ट गरेको जन अधिकारको मर्मबमोजिम न्यायिक वितरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
‘राजस्व भनेको जनताको पसिनाको थोपा थोपाको संग्रह हो,’ मन्त्री शर्माले भने, ‘यसको सम्मान गर्नुपर्छ र न्यायपूर्ण वितरण गर्नुपर्दछ ।’
मन्त्री शर्माले राज्यका हरेक नीतिहरु निरन्तर सुधारको प्रक्रियामा रहेको भएता पनि आफूले निरन्तर सुधारभित्र ‘गुणात्मक सुधार’ चाहेको बताए ।
‘निरन्तर सुधारले मात्र पुग्दैन भन्ने मेरो मान्यता छ,’ उनले भने, ‘निरन्तर सुधारभित्र गुणात्मक सुधार भएन भने त्यो यथास्थितिवादी नीति बन्छ । यथास्थितिवादी नीतिले परिवर्तनको आकांक्षालाई सम्बोधन गर्न सक्दैन । मैले गुणात्मक सुधारको लागि काम गर्ने हो । यो काम हचुवाको भरमा गर्ने होइन । गहन अध्ययन विश्लेषण गरेरै गर्ने हो तर गर्ने हो ।’
बिदाइ समारोहमा अर्थ सचिव मधुकुमार मरासिनीले सेवा निवृत्त हुन लागेका सचिव पुडासैनीले नेपालको अर्थतन्त्र सुधारमा गरेको योगदानको चर्चा गर्दै विना कुनै दाग विदाई हुनु पनि सेवाकालको ठूलो सफलता भएको टिप्पणी गरे । उनले सुधारको विकल्प थप सुधार नै भएको कुरामा जोड दिँदै आर्थिक क्षेत्रमा भएका परिणाममुखी सुधारमा सचिव पुडासैनीको भूमिका महत्वपूर्ण रहेको बताए ।
बिदाइ मन्तव्यको क्रममा राजस्व सचिव पुडासैनीले नवनियुक्त अर्थमन्त्रीले अघि सारेको ‘उपभोगवादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने’ भिजन महत्वपूर्ण र सान्दर्भिक रहेको भन्दै त्यसको कार्यान्वयनले राजस्व संकलनमा समेत सुधार आउने तर्क गरे ।
राजनीतिक र प्रशासनिक क्षेत्र एक अर्काको परिपूरक रहेको भन्दै उनले प्रशासनिक क्षेत्रको जनशक्तिले आफूलाई लोकसेवाबाट आएको भनेर घमण्ड प्रस्तुत गर्न नहुनेमा जोड दिए । सचिव पुडासैनीले भने, ‘ हामी राज्यबाट केही लिन आएको हैन, राज्यलाई केही दिन आएको हो । जनता र राष्ट्रको सेवा गर्नु हाम्रो धर्म हो । घमण्ड गर्नु हुँदैन ।’
तीन दशकभन्दा लामो समय निजामति सेवामा विताउँदाको अनुभव सुनाउदै सचिव पुडासैनीले नेपालमा राजनैतिक क्षेत्रले व्यूरोक्रेट्सलाई अझै पूर्ण रुपमा विश्वास गरिनसकेको बताए ।
वि.सं. २०४५ साल असार २० गते निजामति सेवामा प्रवेश गरी २५ वर्ष अर्थमन्त्रालयमा कार्यरत पुडासैनीसँग विश्व बैंक र एशियाली विकास बैंकमा बसेर काम गरेको अनुभव छ । निजामति सेवामा ३३ वर्ष बिताएका पुडासैनी ५८ वर्षे उमेर हदका कारण साउन २४ गते आइतबारदेखि सेवानिवृत्त हुन लागेका हुन् ।
कार्यक्रममा आधिकारिक ट्रेड युनियन विभागीय कार्यसमिति अर्थ मन्त्रालयका अध्यक्ष वामदेव पन्थीलगायत विभिन्न विभाग तथा समितिको तर्फबाट सचिव पुडासैनीलाई मायाको चिनो र दोसल्लासहित विदाई गरिएको थियो ।









