तनहुँका पहिरो पीडितलाई प्रदेशको ५० हजार

पोखरा । गण्डकी सरकारले तनहुँका पहिरो पीडितलाई ५० हजारका दरले राहत उपलब्ध गराएको छ । शुक्रबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऋषिङमा गएको पहिरोबाट मृत्यु भएका दुईजनाका परिवारलाई राहत हस्तान्तरण गरेका हुन् । असार २ गते ऋषिङमा पहिरोका कारण देवीसरा थापा र खुमबहादुर आलेको मृत्यु भएको थियो ।
उनीहरूको परिवारलाई प्रतिमृतक ५० हजार प्रदेश सरकारको राहत हस्तान्तरण गरिएको हो । उनीहरूलाई संघ सरकारले जनही २ लाख सहयोग गरेको थियो । पहिरोले सडकमा ठूलो क्षति पुगेकोमा प्रदेशले तत्काल २५ लाख रुपैयाँ उपलब्ध गराएको थियो ।
घर क्षति भएकाहरूलाई पुनःस्थापनाका लागि प्रतिघर ४ लाख रुपैयाँ उपलब्ध गराउने सरकारी प्रतिबद्धता छ । मापदण्डअनुसार संघको ४०, प्रदेशको ३० र स्थानीय तहले ३० प्रतिशत लगानी गर्नुपर्नेछ । विस्थापित परिवारलाई जतिसक्दो छिटो पुनःस्थापना गराउने पोखरेलले आश्वासन दिए ।








