उपचार गर्दागर्दै बिरामीको मृत्यु, अस्पताल तोडफोड

विराटनगर । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि विराटनगरको गोल्डेन अस्पतालमा बिरामीका आफन्तले तोडफोड गरेका छन् ।

मोरङको धनपालथान गाउँपालिका-६ कदमाहाका ६७ वर्षीय अहमद हुसेनको ‘पिलोको शल्यक्रिया’ गर्ने क्रममा मृत्यु भएको दाबी गर्दै आक्रोशित बिरामीका आफन्तले सोमबार राति अस्पताल तोडफोड गरेका हुन् ।

पिलोको शल्यक्रिया गरिएको हुसेनको मृत्यु भएपछि आक्रोशित परिवारका सदस्य र आफन्त राति अस्पतालको तोडफोड गरेको अस्पताल प्रशासनले जनाएको छ । हुसेनलाई उपचारका लागि सोमबार बिहान भर्ना गरिएको हो । अस्पताल र चिकित्सकले लापरवाही तरिकाले उपचार गरेको भन्दै मृतकका आफन्तले नाराबाजी गर्दै अस्पताल तोडफोड गरिदिएका हुन् ।

उनीहरूले लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै तोडफोड गरेका हुन् । हुसेनको अस्पतालका सर्जन डा. सरोज राजवंशी नेतृत्वको चिकित्सक टोलीले सोमबार साँझ शल्यक्रिया गरेको थियो ।

शल्यक्रियापछि बिरामीको अवस्था गम्भीर बनेको र राति भेन्टिलेटेरमै मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पताल प्रशासनका सन्तोष मेहताले शरीरका धेरै अंगले काम गर्न छाडिसकेको र बिरामीको अवस्था गम्भीर रहेको अवस्थामै भर्ना गरिएको दाबी गरे ।

मलद्वारमा पिलो आएकाले संक्रमण फैलिएर शरीरका अरू अंगले काम गर्न छाडेको जानकारी चिकित्सकले दिएको उनले बताए ।

२५/३० जनाको संख्यामा भेला भएका मृतकका आफन्त र परिवारका सदस्यले तोडफोड गर्दा अस्पतालको काउन्टरको दुईवटा झ्यालमा क्षति पुगेको मेहताले जानकारी दिए ।

तोडफोड र कुटपिटमा संलग्न भएको आरोपमा सात जनालाई सोमबार राती प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − twelve =