फिल्म सिटीका लागि प्रदेश एकमा श्रीलङ्का टप्पु उपयुक्त

काठमाडौं । चलचित्र विकास बोर्डको कार्य योजनाअनुरूप छायाङ्कन स्थल निर्माण सम्भाव्यता अध्ययन समितिले बराह क्षेत्र नगरपालिकाको श्रीलङ्का टप्पु क्षेत्रलाई फिल्म सिटी बनाउन उपयुक्त रहेको ठहर गर्दै स्थानीय तहलाई प्रतिवेदन बुझाएको छ ।

टप्पुमा पर्ने गरैया, चिलैया क्षेत्रमा चलचित्र छायाङ्कन स्थलका लागि नगरपालिकाले गरेको समन्वयका लागि चलचित्र विकास बोर्डले आभार ज्ञापनसमेत गरेको छ ।

छायाङ्कन स्थल निर्माण सम्भाव्यता अध्ययन समितिको सिफारिसका आधारमा बराह क्षेत्र नगरपालिकाले टप्पु क्षेत्रमा छायाङ्कन स्थल निर्माण गर्नका लागि सहमति प्रदान गरी पठाएको थियो । जवाफमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बोर्डका तर्फबाट बराह क्षेत्र नगरपालिकालाई धन्यवाद ज्ञापन गर्दै प्रतिवेदन बुझाएको समितिका सहसंयोजक प्रेम सुब्बाले जानकारी दिए ।

चलचित्रकर्मीले बराह क्षेत्रका नगर प्रमुख निलम खनाललाई भेटी प्रतिवेदन हस्तान्तरण गरेका छन् । पत्र हस्तान्तरण गर्दै समितिका सहसंयोजक प्रेम सुब्बाले प्रदेश १ भरी जग्गाको उपलब्धता र सुन्दरताको हिसाबले बराह क्षेत्रको टप्पु क्षेत्र उपयुक्त भएको बताए ।

कार्यक्रममा नेपाल चलचित्रकर्मी महासङ्घ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानले सातै प्रदेशमा बन्ने फिल्म सिटीभन्दा तुलनात्मक हिसाबले प्रदेश १ मा आकर्षक र उपयुक्त स्थान छनोट भएको बताए ।

सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको समन्वयमा सातै प्रदेशमा छायाङ्कन स्थल निर्माण गर्ने अभियानअन्तर्गत बराह क्षेत्रलाई छनोट गरी चलचित्र विकास बोर्डले काम अघि बढाएको छ ।

चलचित्र विकास बोर्डले गठन गरेको छायाङ्कन स्थल निर्माण सम्भाव्यता अध्ययन समितिले प्रदेश १ का विभिन्न स्थलमा अवलोकन गरी वराहक्षेत्रको श्रीलङ्का टप्पु क्षेत्रलाई उपयुक्त स्थानका रूपमा सिफारिस गरेको थियो ।

समितिले यसअघि प्रदेश र सङ्घीय सरकारलाई उक्त प्रतिवेदन बुझाइसकेको छ ।

कार्यक्रममा नेपाल चलचित्रकर्मी महासङ्घका प्रदेश १ अध्यक्ष अरुणकुमार प्रधान, सदस्य हिमाल दाहाल, छायाङ्कन स्थल निर्माण सम्भाव्यता अध्ययन समितिका सहसंयोजक प्रेम सुब्बा, सदस्यहरू केबल तामाङ, केशव रायमाझी, भीषण राईलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 14 =