सपनाबिनै कलाकार बनेका ‘खुपीका बा’

काठमाडौं । काठमाडौंमा बसेर नाटक गर्दै थिए, कमलमणि नेपाल । उक्त समय नाटक गरेर जीविकोपार्जन गर्न सक्ने स्थिति थिएन । उल्टै चिउरा-भुजिया बोकेर नाटक रिहर्सलमा जानुपर्थ्यो । नाचघरमा प्रशिक्षण लिएपश्चात् उनी रङ्गमञ्चकै सुनिल पोखरेलसँग काम गर्थे ।

घरबाट सधैँ पैसा मगाउनुपर्ने भएको स्थितिमा उनका बुबाले काठमाडौँ र नाटक छाडेर घर फर्किनुपर्ने बताएका थिए । निरन्तर सुनिलसँग काम गरिरहेका उनले घरबाट बुबाले काठमाडौँ छोड्न भनेको कुरासमेत सुनिललाई नै सुनाए । सुनिलले एक वर्ष अझै प्रयास गर्न सुझाए । यही कुरा उनले आफ्ना बुबालाई भने । र, बिस्तारै उनी नाटकमा जम्न थाले ।

कमल करिब चार दशकअघि मोरङमा जन्मिएका हुन् । उनको कलाकार बन्ने कुनै सपना थिएन । तर सानै उमेरबाट उनी अरूको नक्कल अर्थात् क्यारिकेचर भने गर्थे । एकपटक उनको गाउँमा नाटक देखाउन एक समूह पुगेको थियो । उनले पनि त्यो नाटकमा भाग लिए । उनको प्रतिभा देखेर, नाटक टोलीका सदस्यहरूले नाटकलाई निरन्तरता दिन आग्रह गरे ।

जसले कमललाई हौसला थप्यो । तर कलाकार बन्न कला क्षेत्रको कोही व्यक्तिसँग पनि चिनापर्ची नभएकाले उनले अभिनयको चाहना मनमा दबाएरै राखे ।

१२ कक्षा सकेपछि भने उनी ‘कम्प्युटर सिक्न’ काठमाडौं पसे । यहाँ बस्ने क्रममा उनले साथीहरूको आग्रहलाई स्वीकार्दै नाचघरमा पहिलोपटक नाटकमा अभिनय गरे । योसँगै उनले नाचघरमा एक वर्षको प्रशिक्षण लिने योजना बनाए । यही अवधिमा उनले वीरेन्द्र हमाललाई भेटे । उनीसँग केही समय काम गरे । त्यसपछिको सङ्गत उनको सुनिल पोखरेलसँग भयो । सुनिलको निकट सङ्गतले उनलाई कलामा निखारता ल्याउन मद्दत गर्‍यो । यही निकटताका कारण बुबाले ‘अब घर फर्की’ भन्दा उनले यसबारेमा सुनिलसँग सल्लाह मागेका थिए ।

सुनिलले अझै एक वर्ष यतै बस्न र कलामै भविष्य खोज्न सुझाव दिए । उनले बाले भनेको मानेनन् । सुनिलले भनेको माने ।

त्यही एक वर्षमा उनी फाइनान्समा काम थाले । सँगै नाटक पनि खेल्न थाले ।

उनी बिहान जागिरमा जाने गर्थे । उनले बिहान जागिर, दिनमा रिहर्सल र साँझमा नाटक मञ्चनको समय मिलाएका थिए ।

३ हजार ८०० को जागिरले उनले आफ्नो खर्च व्यवस्थापन गरेका थिए । गुरुकुल स्थापनासँगै उनले छात्रवृत्तिमा पहिलो ब्याचको विद्यार्थी भएर पढ्न पाउने भए । नाटक सिक्न पनि पाइने र मासिक २ हजार ५०० पनि पाइने भएपछि उनले सहकारी छाडे र गुरुकुलमै अभिनय सिक्न र गर्न थाले । उनको काम धेरैले मन पनि पराए । अभिनयबाट उनी चिनिँदै गए ।

कमललाई चलचित्रको लागि अफर आयो । उनले पहिलो पटक नाटकभन्दा बाहिर गएर चलचित्र ‘धन्दा’मा काम गरे । गुरुकुल बन्द भएकै समयमा उनले अन्य चलचित्र अन्तराल, लोफर, कबड्डी कबड्डीलगायतमा अभिनय गरे ।

उनलाई हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’ समूहबाट अभिनय गर्न प्रस्ताव आयो । नाइँ भन्न सकेनन् र काम थाले । तर कुनै योजनाबिनै काम थालेको भद्रगोलकै पात्रका रुपमा उनी धेरै चिनिए । उनलाई कमलमणिभन्दा पनि ‘खुपीका बा’ का रुपमा चिन्ने दर्शकहरु बढ्दैछन् ।

उनै ‘खुपीका बा’ अर्थात् कमलमणिको आज जन्मदिन । कमललाई जन्मदिनको शुभकामना ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =