पोखरा विश्वविद्यालयमा पनि शिक्षण अस्पताल

पोखरा । पोखरामा रहेको पोखरा विश्वविद्यालयले शिक्षण अस्पताल खोल्ने भएको छ । २१औं साधारणसभाले शिक्षण असपताल खोल्ने निर्णय गरेको हो ।

यसका लागि बजेट समेत विनियोजन भइसकेको छ । तत्काल कुनै कलेज सारेर त्यहाँ अस्पताल खोल्न लागिएको उपकुलपति प्रा.डा. प्रेम अर्यालले जानकारी दिए । ‘हामीसँग कलेज चलिरहेको कुनै ठाउँलाई खाली गराएर त्यहाँ अस्पताल सुरु गर्न लागेका छौं । त्यसो भएन भने तत्कालै टहरा बनाएर भएपनि सुरु हुन्छ,’ उनले भने, ‘यो सेसनमा गाह्रो होला । अर्को सेसनबाट अस्पताल चल्छ । हाम्रा विद्यार्थी अन्त अभ्यासका लागि जानु पर्दैन ।’

अस्पताल बनाउन २१ करोडभन्दा बढी विनियोजन भैसकेको उनले सुनाए । लामो समय अघिदेखि शिक्षण अस्पताल खोल्ने भनिएपनि सम्भव भएको थिएन । केन्द्रीय क्याम्पस रहेकै ठाउँ लेखनाथमा अस्पताल चलाउने अर्यालले सुनाए । १ सय बेड क्षमताको अस्पताल निर्माण गर्ने योजना छ ।

त्यसपछि अन्य कलेजहरुमा पनि यसको विस्तार हुने बताईएको छ । ‘भरतपुरले मागेको धेरै भइसक्यो । हामीले एमविविएस सुरु गर्न सक्यौं भने अरु कलेजमा पनि सम्बन्धन दिन्छौं,’ अर्याल भन्छन्, ‘विभिन्न कलेजहरुले सम्बन्धन खोजी रहेका छन् । चासो देखाईरहेका छन् ।’

विश्वविद्यालयले आगामी वर्षका लागि १ अर्ब १९ करोड १० लाख रुपैयाँ बजेट पारित गरेको छ । पोखरा विश्वविद्यालयमा स्वास्थ्यका ५ वटा कार्यक्रम सन्चालित छ । त्यो स्नातक तहमा मात्रै छ । बिएस्सी नर्सिङ, बिफर्मा, पब्लिक हेल्थ, मेडिकल ल्याब टेक्नोलोजी र फिजियोथेरापीको पढाइ हुँदै आएकोमा अव मागमा आधारित थप कार्यक्रम सन्चालन गरिने विश्वविद्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =