गण्डकीमा १ लाख बढी भूमिहीनले जग्गा पाउने

पोखरा । गण्डकी प्रदेशका एक लाखभन्दा बढी भूमिहीन सुकुम्बासीले जग्गा पाउने भएका छन् । ११ जिल्लामा रहेका १ लाख ४ हजार ९ सय ९७ जना भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको तथ्यांक संकलन गरिएकाे हाे ।

केही महिनाअघि गठीत भूमि सम्बन्धी समस्या समाधान आयोग गण्डकी प्रदेशले सबै स्थानीय तहबाट भूमिहीनहरुको तथ्यांक संकलन गरिएकाे हो । प्रदेशमा भूमिहीन दलित ७ हजार ९०४, सुकुम्बासी १२ हजार ६५८, अव्यवस्थित बसोबासी ७७ हजार ६९ र पहिले नै वितरण हुन नसकेको सात हजार २९६ जना छन् ।

सबैको निवेदन उपर पहिचान र प्रमाणीकरण भने भैनसकेको आयोगका गण्डकी प्रदेश प्रतिनिधि एकबहादुर रानाले बताए । ‘हामी अन्तिम चरणमा पुगेका छौं । निवेदन प्राप्त भयो । त्यसउपर खोजी भैरहेको छ,’ उनले भने, ‘छानबिन गर्दा संख्या तलमाथी हुन सक्छ ।’ गत मङ्सिर २७ गते प्रदेशका ३७ र फागुन ६ मा ४८ गरी ८५ वटै स्थानीय तहमा सम्झौता गरेर सम्बन्धित पालिकामानै निवेदन संकलन गरिएको थियो । भूमिहीन सुकुम्बासीलाई सार्वजनिक हितका लागि उपयोगमा आउने बाहेकको जमिनमा बसोवास गरिरहेको भए सोही ठाउँमा व्यवस्थापन गरिने र सार्वजनिक जग्गा अतिक्रमण गरेको भए स्थानान्तरण गरिने रानाले सुनाए ।

आयोगले आगामी साउनदेखि भदौ महिनाभित्रमा सबै स्थानीय तहमा तथ्यांक प्रमाणीकरण गर्ने र नापीको काम सुरु गर्ने योजना छ । आगामी वर्षभित्र सबैलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिसक्ने तयारी छ । आगामी आर्थिक वर्षको पहिलो चौमासिकमा २५ हजार १४५, दोश्रो चौमासिकमा ३७ हजार ५१३ र अन्तिम चौमासिकमा ४२ हजार ३३९ परिवारलाई जग्गा धनी पूर्जा वितरण गर्ने योजना रहेको रानाको भनाई छ । आयोगले जग्गा नापी गर्न स्थानीय तहमा ३५ जना अमिन तथा सर्वेक्षक जनशक्ति पठाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =