विपक्षीको विरोधले प्रदेश सभा बैठक स्थगित

पोखरा । बजेट छलफलका लागि बोलाइएको प्रदेश सभा बैठक विपक्षीले अवरोधपछि स्थगित भएको छ । बैठकको शुरमै एमाले सांसदहरु उठेर विरोध जनाए । असार १ गते बजेट ल्याएपछि अहिलेसम्म सदन चलेको थिएन ।

रातो र गुलाबी किताब तयार गरेपछि आइतबारदेखि बैठक सञ्चालन गर्ने निर्णय भएको हो । तर विपक्षीले बजेट रकमान्तरको विरोध जनाएर बैठकमा अवरोध गरे । विपक्षी सांसद रामशरण बस्नेतले सरकारको कार्यशैली खेदजनक भएको बताए । ‘हिजो हामीले रकमान्तर गर्दा उहाँहरुले विरोध गर्नुभयो । आग्रह र पूर्वाग्रहका साथ बोलेका छैनौँ,’ उनले भने— ‘रकमान्तर कति करोड भयो र के आधारमा योजना छनोट भयो ? त्यसको फेहरिस्थ दिनुस् ।’

उनले अहिलेको सरकारको संकेत राम्रो नभएको तर्क गरे । ‘मुख्यमन्त्रीज्यू इमान्दार र आदर्श पुरुषको रुपमा सुनेका थियौं । तर सुन थाहा पाउन कसी नै लगाउनुपर्ने रहेछ । हेर्दा इमान्दार देखिने तर व्यवहारमा जाँदा उहाँको काम राम्रो देखिएन,’ उनले भने— ‘सरकारबाट धेरै आशा र अपेक्षा गरेका छन् । लामो समय हामी सत्ता सञ्चालन गर्दा सल्लाह र सुझाव प्राप्त गरेका थियौँ । उहाँहरु सत्तामा पुगेपछि राम्रो गर्नुहोला भनेको द्रुत गतिमा बढेको विकास ठप्प भयो ।’

बजेट ल्याउन आफूहरुले सहयोग गरेपनि सरकारले आफ्नो सहयोग नबुझेको गुनासो गरे । अहिलेको बजेट आर्थिक कार्यविधि ऐन, नियमावली, बजेट तर्जुमा दिग्दर्शन, आर्थिक ऐन, सार्वजनिक खरिद ऐन र नियमावली, विनियोजन ऐन, बजेट तथा कार्यक्रम कार्यान्वयन एकीकृत कार्यविधि, सार्वजनिक खर्चमा मितव्ययिता तथा प्रभावकारिता मार्गदर्शन, आर्थिक मामिला मन्त्रालयको बजेट कार्यान्वयन मार्गदर्शन, बहुवर्षीय ठेक्कासम्बन्धी निर्देशिका, बजेटको सिद्धान्त र प्राथमिकता, बजेट वक्तव्य र प्रदेशको पञ्चवर्षीय योजनाविपरीत भएको उनको तर्क छ । बजेट रकमान्तरको फेहरिस्थ नआउँदासम्म सदन अघि बढ्न नदिने एमालेको चेतावनी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − three =