गण्डकी प्रदेश

नयाँ सरकारलाई एमालेको चेतावनी : पहिलेका योजना फेर्न खोजे सरकार चलाउन गाह्रो हुन्छ

पोखरा । एमाले संसदीय दलका नेता तथा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरानो सरकारको जनमुखी काम फेर्न खोजे सरकार सन्चालन गर्न अहिलेको पार्टीलाई सकस पर्ने चेतावनी दिएका छन् ।

पत्रकारहरुसँग कुरा गर्दै उनले आफ्नो कार्यकालमा राम्रा कामको थालनी भएकोले त्यो पूरा गर्न अहिलेको सरकारले बजेट विनियोजन गर्नुपर्ने बताएका हुन् । ‘२७ जनाको डल्लो एकातिर छ । बलियो प्रतिपक्षी छ भन्ने बुझ्नुपर्यो,’ गुरुङले भने— ‘पहिलेका सरकारले सुरु गरेका राम्रा काम चेन्ज गर्नु भो भने सरकार चलाउन गाह्रो छ ।’ एक घर एक धारा, प्रत्येक निर्वाचन क्षेत्रमा नमूना सडक, पालिका जोड्ने गुणस्तरीय सडक, रणनीतिक महत्वका सडकलगायत कार्यक्रम आफ्नो सरकारले सुरु गरेपनि सबैले मिलेर पूर्णता दिनुपर्ने उनको सुझाव छ ।

गुरुङले अहिलेको सरकार भ्रष्टाचारको अभियानबाट सुरु भएको बताए । असारको मध्यतिर बजेट रकमान्तर गरेकोमा आपत्ति जनाएका छन् । ‘१६ गते पठाएको रकम १० दिनमा कसरी खर्च हुन्छ ? त्यसले राम्रो काम हुनै सक्दैन । कार्यकर्तालाई सीधै बाँडेकोबाहेक यस्तो रकमान्तर के हुन्छ ?,’ उनले भनेका छन्— ‘यो सरकार भ्रष्टाचारको अभियानबाट सुरु भयो ।’

आफ्नो गल्ती ढाकछोप गर्न एमाले सरकारलाई आरोप लगाएको उनको तर्क छ । ‘यता १६ करोडको विरोध हुन थालेपछि विधि र प्रक्रियाअनुसार टेण्डर निकालिएका योजनालाई गलत व्याख्या गरियो । यसरी भ्रम छर्न मिल्दैन,’ गुरुङ भन्छन्, ‘बजेट चलाउने कुरा बच्चाको खेल हो र ? योजनामा नपरेको भए टेण्डर निकाल्नै मिल्दैन नि ।’

सरकारका प्रवक्ता कुमार खड्काले सरकार छाड्ने बेला गुरूङ नेतृत्वको सरकारले रातो किताबमा नभएका योजनाबाट साढे ४ अर्बको ठेक्का लगाएको आरोप लगाएका थिए । पूर्व भौतिक पूर्वाधार विकासमन्त्री तथा प्रवक्ता रामशरण बस्नेतले ति आरोप झुठा भएको बताए । स्रोत सुनिश्चित गरेर मात्र ठेक्का प्रक्रिया अघि बढाइएको उनको दाबी छ ।

एमालेले रातो कितावमा तलमाथी भए संसद् सहज चल्न नसक्ने चेतावनी दिएको छ । भोलिदेखि गण्डकी प्रदेश सभा बैठक डाकिएको छ । असार १ गते बजेट ल्याएपछि स्थगित संसद् बजेट छलफलकै लागि बोलाइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + ten =