एनआरएनए बैठकमा विवाद : उपाध्यक्ष लामाले महासचिव शर्मामाथि उठाए औंला

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)मा महाधिवेशन नजिकिँदै जाँदा विवाद पनि बढ्दै गएको छ । राष्ट्रिय समन्वय परिषद्हरू (एनसीसी)मा अधिवेशन चलिरहँदा सदस्यता र नयाँ महाधिवेशन प्रतिनिधि (डेलिगेट्स) चयनलगायतका विषयमा विवाद बढेको हो ।

अन्तर्राष्ट्रिय समन्वय परिषद्का केही पदाधिकारीहरूले एनसीसीका अधिवेशनहरुमा अनावश्यक हस्तक्षेप गरेको भन्दै आइसीसीकै पदाधिकारीहरुले अध्यक्ष र महासचिवको चर्को आलोचना गरेका छन् ।

आगामी अक्टोबरमा हुने संघको १०औं महाधिवेशनको तयारी स्वरुप बिहीबार साँझ आयोजित पदाधिकारी (अफिस बेयरर्स)हरुको बैठक विवादकै कारण कुनै निष्कर्षमा पुग्न सकेन । बैठकका लागि १७ वटा एजेण्डा तय गरिएको भएपनि शुरुमै पदाधिकारीहरूबीच नै भनाभन भएपछि बैठक ठोस प्रस्तावमा प्रवेश नै गर्न सकेन ।

बैठक शुरु भएलगत्तै महासचिव हेमराज शर्माले बैठकका प्रस्तावहरु पेश गरेका थिए । त्यस अगावै सचिवालयले बैठकका सहभागी सबै पदाधिकारीहरुलाई इमेलमार्फत लिखित रुपमै प्रस्ताव उपलब्ध गराइसकेको थियो ।

सोहीअनुसार महासचिव शर्माले आसन्न दशौं महाधिवेशनको तयारी र जारी एनसीसीहरुको अधिवेशनका विषयलाई समेटेर सांगठनिक प्रतिवेदन पेश गर्न थालेपछि विवाद उत्पन्न भएको हो । विवादकै कारण बैठक अन्य प्रस्तावमा अगाडि बढ्नै सकेन र बिनानिष्कर्ष टुंगियो ।

बैठकमा महासचिव शर्माले अमेरिकाको एनसीसी अधिवेशनमा विधानको पालना नभएको बताएपछि अमेरिकामा नै रहेका उपाध्यक्ष सोनाम लामाले प्रतिवाद गरेका थिए ।

एनसीसी अमेरिकाको निर्वाचन एक महिनाअगावै सम्पन्न भएपनि गतसाता मात्रै साधारणसभाको आयोजना गरी नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण गरिएको थियो । नयाँ कार्यसमितिलाई शपथ गराउने क्रममा कार्यक्रममै विवाद उत्पन्न भएको थियो ।

सोही प्रसंग महासचिव शर्माले आइसीसी पदाधिकारी बैठकमा पनि कोट्याएपछि उपाध्यक्ष सोनाम लामाले अमेरिकाको वास्तविक घटनाबारे जानकारी गराउने क्रममा महासचिव शर्मा र उपाध्यक्ष लामाबीच निकै बेर भनाभन नै चल्यो ।

No description available.
उपाध्यक्ष सोनाम लामा ।

उपाध्यक्ष लामाले ‘महासचिव शर्माकै कारण संगठन बिग्रिएको भन्दै भन्दै एनसीसीहरूमा गरिएको हस्तक्षेप तत्काल बन्द गर्न चेतावनी’ दिएका थिए । ‘महासचिवज्यू, तपाईंकै कारण एनसीसीहरु पीडित भएका छन्, संगठन बिग्रिएको छ, यसरी संगठन बिग्रिनुमा तपाईंले जिम्मेवारी लिँदै एनसीसीहरुमा गरेको हस्तक्षेप तत्काल बन्द गर्नुस्’ बैठकमा उपाध्यक्ष लामाले भनेका थिए ।

उपाध्यक्ष लामाले एनसीसीहरुले समाधान गर्ने विषयमा महासचिवले हस्तक्षेप गर्ने र त्यसलाई अर्का उपाध्यक्ष डा. बद्री केसी र अध्यक्ष कुमार पन्तले पनि साथ दिने गरेकाले संसारभरको संगठनमा नराम्रो असर परेको भन्दै संस्थाको विधान र गरिमाअनुसार अगाडि बढ्न सुझाव दिएका थिए ।

‘सौहार्दपूर्ण रुपमा निर्वाचन भएको अमेरिकामा महासचिवकै कारण विवाद उत्पन्न भएको छ, महासचिव बस्ने देश बेलायतमै विवाद बढेको छ‚’ बैठकमा लामाले भने, ‘यी सबै विवादको जड महासचिव हो र महासचिवले जिम्मेवारी लिँदै विवाद समाधान गर्नुस् ।’

बैठकमा सहभागी मध्यपूर्व उपसंयोजक मनोज गोरखालीका अनुसार, महासचिव शर्माले उपाध्यक्ष लामाले लगाएको आरोपमा सत्यता नरहेको भन्दै फिर्ता लिन माग गरेका थिए । तर, उपाध्यक्ष लामाले आफूले भनेका कुरा आरोप नभई यथार्थ भएकाले फिर्ता नलिने स्पष्ट पारेका थिए । सोही क्रममा महासचिव शर्मा र उपाध्यक्ष लामाबीच निकै बेर भनाभन नै चल्यो ।

उपाध्यक्ष लामाले अर्का उपाध्यक्ष बद्री केसी अमेरिका पुगेर महाधिवेशन प्रतिनिधि (डेलिगेट्स) चयनका विषयमा भड्काउने खालको अभिव्यक्ति दिएर थप समस्या निम्त्याएको समेत बताएका थिए ।

‘अमेरिकामा लामो समयपछि विवादरहित रुपमा निर्वाचन भएको थियो । पदाधिकारीहरू नै अमेरिका पुगेर नयाँ विवाद झिक्ने काम भयो, यसको जिम्मेवारी कसले लिने ?’ बैठकमा लामाले प्रश्न राखेका थिए ।

उपाध्यक्ष लामाले आइसीसीले संशोधन गरेको विधान सरकारले प्रमाणीकरण नगर्दै अमेरिकाको निर्वाचन भएको र प्रमाणीकरण नहुँदैको विधान बाध्यकारी नहुने बताएका थिए ।

हस्तक्षेपबाट पीडित अमेरिकाका प्रतिनिधिहरुले नेपालको सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको र त्यसबाट आउनसक्ने अवस्थाको जिम्मेवारी पनि महासचिवले नै लिनुपर्ने भन्दै सचेत रहन चेतावनी दिएका थिए ।

No description available.
महासचिव हेमराज शर्मा

आफूमाथि गम्भीर आरोप लागेको भन्दै महासचिव शर्माले पटक पटक आरोप फिर्ता लिन उपाध्यक्ष लामालाई आग्रह गरेपनि उनले फिर्ता लिएनन् । आरोप फिर्ता नभए बैठक अगाडि नबढ्ने अडान शर्माले लिएका थिए । तर, अन्य पदाधिकारीहरुले क्षेत्रगत रुपमा देखिएका समस्यामाथि छलफल हुनुपर्ने बताएपछि युरोप र मध्यपूर्व क्षेत्रमा देखिएका समस्याका बारेमा छलफल भएको थियो ।

मध्यपूर्वमा पनि उस्तै

मध्यपूर्वका संयोजक प्रवीण गुरुङ र उपसंयोजक मनोज गोरखालीले एनसीसीहरुमा सञ्चालन गरिएको ‘मेम्बरसिप ड्राइभ’मा पनि महासचिवले अनावश्यक हस्तक्षेप गरेको र क्षेत्रीय पदाधिकारीहरुलाई भूमिकाविहीन बनाइएको गुनासो गरेका थिए ।

सदस्यता आवेदनका लागि एमआईएस सिस्टम लागू गरिएपनि मध्यपूर्वमा सदस्यता आवेदकको तस्वीरको नाममा ‘सेल्फी’ अनिवार्य गरेर झन्झटिलो प्रक्रिया अवलम्बन गरेर दुःख दिने काम गरिएको गोरखालीले बताए ।

बैठकमा गोरखालीले आफ्नै सदस्यता आवेदन चौथो पटकमा मात्रै सफल भएको भन्दै केही पदाधिकारीहरुले अनावश्यक हस्तक्षेप गर्दै नयाँ नयाँ प्रावधान राख्दा समस्या भएको बताएका थिए ।

पन्ध्र, सोह्र हजार सदस्य बन्ने दुबईमा अहिले अठार उन्नाइस सयमात्रै सदस्यता आवेदन परेको छ, यो संस्था बलियो भएको हो कि, दुब्लाएको हो ? बैठकमा गोरखालीले प्रश्न गरेका थिए । उनले बहराइनमा सदस्यता आवेदन नमिलेकैले एक पदाधिकारीलाई निलम्बन गरिएकोसमेत जानकारी गराएका थिए ।

हरेक विषयमा महासचिवले हस्तक्षेप गर्ने गरेको र आफूपक्षीय केही पदाधिकारीहरुको सुझावका आधारमा एमआईएस बन्द गर्ने र खोल्ने गरिएको पनि बताएका थिए ।

बैठकमा सहभागी क्षेत्रीय संयोजकहरुले सम्बन्धित क्षेत्र भित्रका एनसीसीहरुलाई गरिने निर्देशन र सहजीकरणका बारेमा अध्यक्ष र महासचिवले नै चासो राख्ने र क्षेत्रीय पदाधिकारीहरुलाई बेवास्ता गर्ने गरिएको बताएका थिए ।

‘क्षेत्रीय संयोजक, उपसंयोजकहरुलाई किन भूमिका विहीन बनाइयोरु’ मध्यपूर्वका संयोजक प्रवीण गुरुङको प्रश्न थियो । सदस्यता आवेदन, एनसीसीहरुको अधिवेशनलगायतका विषयमा केही पदाधिकारीहरुले गरेको हस्तक्षेपका विषयमा सहभागीहरुले अध्यक्ष कुमार पन्तको जवाफ माग गरेका थिए ।

पन्तको रहस्यपूर्ण अनभिज्ञता

बैठकमा अध्यक्ष कुमार पन्तले भने एनसीसीहरुमा पदाधिकारीहरुले हस्तक्षेप गरेको र सदस्यता आवेदनमा देखिएको समस्याका बारेमा आफूलाई कुनै जानकारी नभएको जवाफ दिएका थिए ।

‘सदस्यता आफ्नै सिस्टममा चलेको छ भन्ने मलाई लागेको छ, कुनै पदाधिकारीहरुले हस्तक्षेप गरेको भन्ने मलाई जानकारी छैन‚’ बैठकमा अध्यक्ष पन्तले भनेका थिए ।

‘संगठनको अध्यक्षलाई नै थाहा नहुने गरी कुनै पदाधिकारीले हस्तक्षेप गरेको छ भने त्यसमा चनाखो हुनुपर्‍यो’ पन्तले बोल्दै गर्दा सहभागी पदाधिकारीहरुले भनेका थिए ।

पन्तले आफूलाई जानकारी नभएको बताएपछि असन्तुष्ट पदाधिकारीहरुले त्यसभित्र पनि रहस्य हुनसक्ने भन्दै चनाखो हुनुपर्ने अवस्था आएको बताएका थिए ।

बैठकका लागि तय गरिएका १७ वटा प्रस्तावमध्ये अधिकांश प्रस्तावमा छलफल नै हुन नसकेपछि अब ती सबै प्रस्तावलाई आइसीसीको पूर्ण बैठकमा लैजाने तयारी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + eight =