भेन्टिलेटरमा पुगेर फर्किइन् निशा, अवस्थामा सुधार

काठमाडौं । नर्भिकका प्रबन्ध निर्देशक मेघा चौधरीले उद्धार गरेकी मोडल तथा कलाकार निशा घिमिरेको अवस्थामा सुधार भइरहेको छ ।

दुर्घटनामा परेर तीन वर्षयता मृत्युशय्यामा छटपटाइरहेकी कलाकार घिमिरेको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले मोडल तथा कलाकार घिमिरेको जेठ २७ गते उद्धार गरेकी थिइन् ।

नर्भिकले सुरुवातदेखि नै उनको उपचारमा डेडिकेटेड स्वास्थ्यकर्मीको टिम नै खटाइदिएको छ । कलाकार निशा घिमिरेले केही दिनअघि आफ्नै दाँतले गाला टोकेपछि अत्यधिक रक्तस्राव भएको थियो । रक्तस्रावका कारण श्वास फेर्न कठिनाई भएपछि उनलाई भेन्टिलेटरमा राख्नुपरेको थियो ।

आफ्नै दाँतले टोकिएको गालाको भित्री भागमा टाँका लगाएर उपचार गरेसँगै उनको अवस्थामा सुधार भएको थियो, फलस्वरुप असार २१ गते भेन्टिलेटरमा राखिएकी कलाकार घिमिरेलाई असार २३ गतेदेखि नै पुनः भेन्टिलेटरबाट निकालिएको थियो ।

हाल उनी आफैंले श्वास फेरिरहेकी छिन् र गालाको भित्री भागमा टोकिएर बनेको घाउसमेत निको हुने क्रममा रहेको छ ।

बाँकी स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको चिकित्सकहरुले जनाएका छन् । हाल उनलाई सीसीयू वार्डमा राखेर उपचार जारी राखिएको छ ।

नर्भिक अस्पतालले ह्विलचेयर थेरापी, म्युजिक थेरापी लगायतका विभिन्न विधिबाट उनको उपचार गरिरहेको छ । डा. पंकज जलान नेतृत्वको टिमले उनको उपचार गरिरहेको छ ।

उनले नर्भिकले सकेसम्म सबै विकल्पमा गएर उनको उपचार गरिरहेको समेत बताए । जलानका अनुसार दुर्घटनाका कारण घिमिरेको ब्रेन इञ्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेकोले पूर्ण रुपमा नर्मल हुने सम्भावना भने न्यून छ ।

‘उहाँको ब्रेनमा निकै ड्यामेज भएको छ‚’ डा. जलानले भने‚ ‘तर, आएको बेलाको तुलनामा घाउहरू निको हुन थालेका छन् । हामीले डाइट र थेरापीमा फोकस गरेका छौं । प्रोटिन, क्यालोरिजहरु प्रशस्त दिइरहेका छौं ।’

तीन वर्षअघिसम्म मिडियाहरुमा छाउने गरेकी मोडल निशा घिमिरेको उद्धार गर्नुअघिको अवस्था निकै दर्दनाक थियो । चलेकी मोडल निशा आर्थिक अभावका कारण उपचार नपाउँदा घरमै अर्धचेत अवस्थामा थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + seven =