काममा फर्किँदै कलाकर्मी

काठमाडौं । लकडाउनले बन्द भएका धेरै कामहरू सुचारु भएका छन् । करिब दुई महिनाबाट रोकिएका चलचित्र र गीतसङ्गीतका कामहरू पुनः सुचारु हुन थालेका छन् । रचनात्मक काम गर्न सुनसान वातावरण मन पराउने भए पनि विश्व नै विषम परिस्थितिमा भएको अवस्थामा काम गर्ने मूड नहुने कलाकर्मीहरूले बताउँदै थिए ।

चलचित्र ‘आधी तुफान २’ को छायाङ्कनलाई लकडाउनले प्रभाव पारेको थियो । फ्लोरमा गइसकेको चलचित्र कोरोनाका कारण दुई महिना रोकिन पुग्यो । अब भने असार २० गतेबाट पुनः छायाङ्कनमा जाने चलचित्रका निर्माता तथा लेखक मौनता श्रेष्ठले बताएका छन् । एक हप्ता छायांकन भएर रोकिएको चलचित्र मदन घिमिरेले निर्देशन गर्दैछन् ।

छायाङ्कन सकिएर पनि पोस्ट प्रोडक्सनको काम रोकिएको चलचित्र ‘तिम्रो मेरो साथ’ को डबिङ सुरु भएको छ । रेड स्टुडियोमा सुरु भएको डबिङमा चलचित्रका मुख्य कलाकार पुष्प खड्का र साम्राज्ञी आर एल शाहले काम सुरु गरेका छन् । चलचित्र रमेश एम के पौडेलको निर्माण तथा निर्देशनमा बन्दैछ ।

यता सङ्गीतकर्मी बसन्त सापकोटा निरन्तर गीत बनाउन व्यस्त छन् ।

न त तिम्लाई यो मनबाट हटाउन सकेँ !
न त तिम्रो मुटुभित्र अटाउन सकेँ !
पिरतीको खेल माया पिरतीको खेल !
बिर्सन गाह्रो छ तिम्लाई बाँचुन्जेल !!

उनकै शब्द र सङ्गीतमा आउने यो गीतको तयारीमा रहेका उनले आवाज भने कसको हुने टुङ्गो नलागेको बताए । केही दिनअघि मात्रै उनले गीत ‘कति माया गर्छौ त नि’ सार्वजनिक गर्दै साङ्गीतिक जगतमा नयाँ आवाज रङ्गिला बटालालाई भित्र्याएका छन् ।

अभिनेता पुष्प चलचित्रसँगै म्युजिक भिडिओ छायाङ्कनको क्लिप सार्वजनिक गर्दै देखिन्छन् । काठमाडौं आएसँगै उनको व्यस्तता बढ्दो छ । उनले छायाङ्कनको क्लिप सार्वजनिक गर्दै लेखेका छन्, ‘ब्याक टु वर्क, मायाले संसार चल्दैन पैसा नभए ।’

बब्लु तथा पृथ्वी खनाल अभिनित भिडिओ ‘नदेखिन्या घाउ’ सार्वजनिक भएको छ । दुई महिनापछि काममा फर्किएको देवेन्द्रले अन्य सामग्रीसमेत सार्वजनिक गर्दै बताएका छन् ।

त्यस्तै दिनेश गौतमको एक गीत छायाङ्कन पश्चात् सम्पादनको क्रममा रहेको छ । मुकुन भुसाल र सृष्टि खड्कालाई लिएर बनाइएको गीत साउनको पहिलो साता रिलिज गर्ने उनको तयारी छ ।

ऋचा शर्मा, प्रदीप भट्टराई, सन्तोष पन्त, मनोज गजुरेललगायतको कमेडी च्यापियन टिम आजबाट कार्यक्रम सुचारु गर्न जोडतोडले लागेका छन् ।

सुस्ताएका सान्सा जोडी वर्षा राउत र सञ्जोग कोइराला भ्लगमार्फत दर्शकको नजिक जोडिन थालेका छन् ।

उता निशा अधिकारीसमेत दोलखाका विभिन्न स्थान घुमेर भ्लग बनाउन व्यस्त छिन् । छोरो बोकेर डाँडाकाँडा घुम्दै गरेकी उनको छोरोलाई देश चिनाउने प्रयास गज्जब छ । ६ महिनाको छोरो बोकेर घुम्न निस्किने उनको प्रचलन अब छोरो ठुलो भएपछि अझ बढेको छ ।

प्रियङ्का कार्की अघिल्लो लकडाउनबाटै घरमै बसेर विभिन्न विज्ञापनमा खेलिरहेकी छन् भने आफ्नै युट्यूब च्यानलमा ‘चपचप डायारिज’ कार्यक्रमसमेत सञ्चालन गरिरहेकी छन् । उनैको सिको गर्दै यता ऋचा शर्मासमेत ‘घरको परिकार’ भन्दै भिडिओ बनाउन थालेकी छन् । दुवै जना गर्भवती भएकोले उनीहरू स्वास्थ्यमा समेत ध्यान दिँदै घरमा रहँदाको समयको सही सदुपयोग गरिरहेका छन् ।

कला क्षेत्र बिस्तारै चलायमान बन्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =