बाढीले सिन्धुपाल्चाेककाे मेलम्ची, तिम्बु र चनौटे बजार क्षेत्र प्रभावित

सिन्धुपाल्चाेक । सिन्धुपाल्चाेककाे मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र हेलम्बु हुँदै आएकाे बाढीले हेलम्बु गाँउपालिकाको तिम्बु र चनौटे बजार क्षेत्र प्रभावित बनाएको छ ।
अविरल बर्षाका कारण आएकाे बाढीले ग्याल्थुममा रहेकाे ट्राउट फर्म, रिसाेर्ट बगाएकाे खबर आएपनि पुष्टि भने भइनसकेकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाढीबाट ५ जना भन्दा धेरै बेपत्ता भएकाे जानकारी आएपनि पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
हेलम्बुदेखि मेलम्ची मुनीसम्म नदी किनारका बासिन्दा त्रासमा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकाेटाले जानकारी दिए । हेलम्बुमा रहेकाे प्रहरी कार्यालय भवनसम्म बाढी पसेकाे छ । सडकहरू बगाएकाे स्थानीयले जानकारी दिएका छन् ।
मेलम्ची आयाेजनाकाे काम गर्नेहरू बस्ने चाईनिज क्याम्पमा समेत बाढी पसेको छ । अम्बाथानकाे सशस्त्र क्याम्प पनि जाेखिममा रहेकाे डीएसपी सापकाेटाले जानकारी दिए ।
तिम्बुदेखि तलतिरको नदि किनारमा रहेका धेरै घरहरू बगाएको स्थानिय अर्जुन भण्डारीले बताए । अझै पानी परिरहेकाले उद्दार तथा खोजीमा समेत समस्या भईरहेको छ । बिस्तृत विवरण आउन बाँकी रहेकाे डीएसपी सापकाेटाले जानकारी दिए ।
यस्तै इन्द्रावती नदीमा आएकाे बाढीले मेलम्चीकाे आमा ह्याल्माे बसपार्क बगाएकाे त्यहाँबाट गणेश दुलालले जानकारी दिएका छन् ।









