नेपालको त्रिकोणात्मक सिरीज स्पेनमा हुने, आधिकारीक निर्णय हुन बाँकी

काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक सिरिज स्कटल्यान्डबाट स्पेनमा सर्ने तय भएको छ। यद्यपि अन्तरराष्ट्रिय क्रिकेट परिषद आईसीसीले  यसबारेमा जानकारी गराउन भने बाँकी रहेको नेपाल क्रिकेट संघ क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।

यसअघि स्कटल्यान्डमा हुने तय भएको सिरिज कोरोनाका कारण यात्रा प्रतिबन्ध लगाइएकाले स्पेनमा गर्ने तयारी आईसीसीले गरेको हो । महासचिव प्याकुरेलले भने‚ ‘स्कटल्यान्डमा नहुने भएपछि स्पेनमा हुने लगभग निश्चितजस्तै भएको छ । तर, आधिकारिक रुपमा आईसीसीको निर्णय नआई फाइनल भयो भन्न मिल्दैन ।’ उनले प्रक्रियागत रुपमा स्पेनमा हुने कुराहरू अन्तिम चरणमा पुगेकाले अब स्पेनमानै प्रतियोगिता हुने सम्भावना धेरै नै रहेको जानकारी दिए ।

लिग-२ मा नेपाल, ओमान, अमेरिका, नामिबिया, स्कटल्यान्ड, पपुवा न्युगिनी र युएई गरी ७ टिमबीच प्रतिस्पर्धा भइरहेको छ । सिरिज आगामी जुलाई तेस्रो सातादेखि गर्ने प्रस्ताव गरिएको छ । लिगअघि खेलाडीले बस्नु पर्ने क्वारेन्टिन, राष्ट्रिय टिमको प्रशिक्षण र तयारीको टुंगो लागेपछि लिगको मिति घोषणा गरिने जनाइएको छ ।

प्रत्येक टिमले ९ सिरिज खेल्नुपर्ने लिग-२ मा नेपालले अहिलेसम्म एक सिरिजमात्र खेलेको छ। प्रतियोगिता २०७६ फागुनमा नेपालकै घरेलु मैदानमा भएको थियो । जहाँ नेपालले अमेरिकालाई दुबै खेलमा हराउँदा ओमानसँग भने दुवै खेलमा हारेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *