ईटहरीमा टोल-टोलमै कोरोना परीक्षण शुरु

ईटहरी । ईटहरी उपमहानगरपालिकाले नगरका टोलबस्तिमै पुगेर कोरोना परीक्षण गरिरहेको छ । गाँउबस्तिका जनताको सहजताका लागि टोलमै पुगेर घर घरबाट बोलाउदै निःशुल्क एन्टिजेन परीक्षण जारी राखिएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् । गौतमका अनुसार वडा नम्बर २, ३, ४, १२, १४ र १९ का समुदायमै पुगेर परीक्षण गरिएको छ । एउटै टोलमा धेरै जना संक्रमित भएको जानकारी आएपछि समुदायमै पुगेर स्वास्थ्य टोलीले परीक्षण गर्ने गरेको हो । परीक्षणसँगै पोजेटिभ रिर्पोट आएका व्यक्तिहरुलाई सहायक औषधिसमेत वितरण गर्ने गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
कुनै समस्या देखा परेमा स्वास्थ्यकर्मीको हटलाइन नम्बर दिएर फोन गर्न आग्रह गर्ने गरिएको गौतमले जानकारी दिइन् । समुदायमा कोरोना संक्रमण फैलन नदिन र लागिहाले होम आइसोलेसनमा बस्दा अपनाउनुपर्ने सावधानीका बारेमा पनि जानकारी दिने गरिएको उपमेयर गौतमले बताइन् ।
यसैगरी इटहरी रंगशालामा उपमहानगरले बिहान ८ बजेदेखि १० बजेसम्म निःशुल्क पीसीआर परीक्षण गर्ने गरेको जनाएको छ । दिनमा सय जनाभन्दा बढीको स्वाब संकलन गरेर परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने गरिएको छ । उपमहानगरले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्यूनतम शुल्क उपलब्ध गराएर उपमहानरबासीका लागि निःशुल्क परीक्षण गरिरहेको ईटहरी उपमहानगरपालिका स्वास्थ्य शाखाकी पुजा भट्टराईले बताइन् ।
‘अहिले परीक्षण गरेकै दिन पनि रिपोर्ट आउने गरेको छ,’ पुजाले भनिन्, ‘हिजो स्वाब संकलन गरेकै दिन रिपोर्ट आयो । ढिलो हुँदा पनि भोलिपल्ट त जसरी पनि आउँछ ।’ प्रदेश ल्याबमा पनि परीक्षणको दायरा बढाउनका लागि प्रदेश सरकारसँग उपमहानगरले अनुरोध गरेको उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले जानकारी दिए ।
‘ईटहरी उपमहानगर स्वास्थ्य शाखाले संक्रमितहरुलाई फोन गरेर उनीहरुको स्वास्थ्य अवस्था बुझ्ने र सल्लाह दिने गर्दै आएको छ,’ उनले भने, ‘समस्या समाधानमा तत्काल स्थानीय तहको प्रतिनिधित्व होस् भनेर हामीले घरदैलो अभियान शुरु गरेका हौँ ।’ उपमहानगरपालिकाले कोभिड संक्रमितका लागि दुईवटा एम्बुलेन्स २४ घण्टै तयारी अवस्थामा राखिएको जनाएको छ । ईटहरी उपमहानगरले इटहरी रंगशालामा संचालन गरेको ५० बेडको अक्सिजनसहितको आइसोलेसनबाट संक्रमित नगरबासीले सेवा लिइरहेका छन् ।









