सुदूरपश्चिममा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय नाघ्यो

धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोनाभाइरस (कोभिड-१९) संक्रमणबाट हालसम्म ज्यान गुमाउनेको संख्या पाँच सय नाघेको छ । मंगलबार ६ जना संक्रमितको मृत्यु भएसँगै प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या पाँच सय नाघेको हो ।
हालसम्म कोरोना संक्रमित भएका ४० हजार ४५ जनामध्ये पाँच सय ६ जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । ४४ हजार ५३९ नमुनाको एन्टीजेन परीक्षण गर्दा पोजिटिभ देखिएका ६ हजार ९१६ मध्ये २२३ को मृत्यु भएको छ ।
यस्तै १ लाख ८३ हजार २५७ नमूनाको पीसीआर परीक्षण गर्दा पोजिटिभ देखिएका ३३ हजार १२९ मध्ये २८३ जनाको मृत्यु भएको तथ्यांक छ । स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा हालसम्म एन्टीजेन र पीसीआर विधिबाट २ लाख २७ हजार ८२६ जनाको परीक्षण गरिएको छ ।
हालसम्म सबैभन्दा बढी कैलालीमा २२२ जनाले ज्यान गुमाएका छन् भने कम डोटीमा १० जनाले ज्यान गुमाएका छन् । यस्तै कञ्चनपुरमा १७०, अछाम र बझाङमा २२/२२, बैतडीमा १८, डडेल्धुरामा १४, दार्चुलामा १४ र बाजुरामा ११ जनाको मृत्यु भएको छ । प्रदेश बाहिरका अन्य तीन जनाको मृत्यु भएको छ ।
हालसम्म प्रदेशमा संक्रमण पुष्टि भएका ४० हजार ४५ जनामध्ये ३१ हजार ३४ जना कोरोना जितेर घर फर्केका छन् । अहिले प्रदेशमा सक्रिय संक्रमितको संख्या ८ हजार ६८६ रहेको छ । जसमध्ये सबैभन्दा बढी कैलालीमा ३ हजार ५०६ जना संक्रमित छन् ।
सुदूरपश्चिम प्रदेशमा मंगलबार ज्यान गुमाएका थप ६ जनामध्ये कैलालीका २, कञ्चनपुरका २ जना र अछामका २ जना छन् ।
यस्तै पछिल्लो २४ घण्टामा ८९९ जना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा ४५४ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न तीनवटा प्रयोगशालामा १०९५ नमुनाको पीसीआर परीक्षणबाट २९९ र १०३६ नमूनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १५५ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ८३७ जनाको नमूना परीक्षण गर्दा २०१ जना, महाकाली अस्पतालमा ५१ नमूना परीक्षण गर्दा १५ जना र डडेल्धुरा अस्पतालमा २०७ जनाको नमूना परीक्षण गर्दा ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।









