माग्ने बुढा भन्छन्- लेख्ने मूड नै बन्दैन

काठमाडौँ । नेपालमा बुधवार बिहानै भूकम्प गयो । अन्य समय झैँ भूकम्पले जमिनसँगै सामाजिक सञ्जालसमेत हल्लायो । सञ्जाल प्रयोगकर्ताको भीडमा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ को पोस्ट चर्चित भयो ।
उनले एउटा खुट्टा गेटभित्र र अर्को बाहिर राखेर खिचेको तस्बिर सार्वजनिक गर्दै लेखे, ‘बाहिर जाउँ कोरोना ! भित्र जाउँ भुईँचालो ! एउटा खुट्टा बाहिर, अर्को खुट्टा भित्र राखेर बाँच्नुपर्‍या छ ।’

उक्त पोस्टमा पचास हजार लाइक, ३ हजार कमेन्ट र एक हजार सेयर पुगिसकेको छ ।

उनले यो पोस्ट यसरी भाइरल हुन्छ भन्ने सोचेर गरेका रहेनछन् । सामाजिक सञ्जालमा अरू कसैको वालमा देखेको यो पोस्ट मन परेर उनले आफैँमा लागू गर्दै तस्बिर खिचेको बताए ।

May be an image of 2 people, people standing and text
शब्दले भन्दा चित्रले न्याय गर्छ भन्ने लागेको उनले बताए । ‘हाम्रो काम नै मनोरञ्जन दिने हो । त्यसैको एक हिस्सा भनेर बुझ्नुस् न ।’ उनले हाँस्दै सुनाए ।

उनले लकडाउनमा दुई प्रकारका काम गरिरहेको बताए । आफ्नो तथा आफ्नाको सुरक्षा र समाजसेवा । समाजसेवाअन्तर्गत उद्योग वाणिज्य महासंघको मनोरञ्जनतर्फको सदस्य भएका कारण केदार र उनको समूहले काठमाडौंमा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिरहेको छ ।

करिब सयको सङ्ख्यामा एम्बुलेन्ससँगै गोरखा अस्पताल र सिभिल अस्पतालमा गरेर ९० वटा आइसोलेसन बेड सञ्चालन गरिरहेका छन् । सन्देशमूलक भिडियो भने उनले घरबाट नै बनाएर पठाउने गरेका छन् ।

घर परिवारको सुरक्षाका लागि उनको परिवारमा कडा नियम छ । अति आवश्यक काम नभई कोही पनि बाहिर निस्किन पाउँदैन । निस्किनैपर्ने भयो भने पनि घरका अन्य सदस्यसँग छलफल गरेर उपर्युक्त कारण भएमात्रै घर बाहिर निस्किन पाउने नियम छ । बाहिर जानै पर्ने स्थिति भएमा समेत स्वास्थ्य मापदण्ड अपनाएर जाने गरेको केदार बताउँछन् ।

‘आजको दिनसम्म चैँ सबै सावधानी अपनाएर सुरक्षित छौ’ उनी भन्छन् । पसलमा समेत पैसा फिर्ता लिनु नपर्ने गरी खुजुरा बोकेर जाने गर्छन् उनी र उनको परिवारका सदस्यहरू । अहिलेको परिस्थितिमा आफूलाई बचाउन उनीहरूले अलिक कडा नै नियम बनाएका छन् ।
टिकटकमा दर्शकले केदारको नयाँ रूप देख्न पाएका छन् । उक्त भूमिका उनले टेलिश्रंखला खासखुसको भाग एकमा निर्वाह गरेको ‘हेरिचैनी’ भन्ने पात्रमा रहेर अभिनय गरेको बताउँछन् ।

कमेडी लेखनको कोर्स केदार स्वयंले निर्माण गरेर कक्षा सञ्चालन गर्दै थिए । दोस्रो ब्याचसम्म उनले पढाएर सकेका छन् । तेस्रो ब्याचका लागि विद्यार्थी तयार भए पनि लकडाउन भएकाले उनी स्वयंले कक्षा सञ्चालन गर्न सकिरहेका छैनन् ।

अनलाइनमार्फत् कक्षा सञ्चालन गर्दा इन्टरनेट गतिलो नहुनाले आवाज काटिनेलगायतका समस्या हुने हुँदा यसतर्फ उनले खासै पहल गरेनन् । स्थिति सामान्य हुनासाथ यसलाई पनि निरन्तरता दिने उनी बताउँछन् ।

यो बेलामा उनले लेखनको काम अत्यन्तै कम गरिरहेका छन् । ‘मूड नै नबन्ने रहेछ’ उनी यसको कारण खुलाउँछन् । यो समयमा आफू र आफ्नाको सुरक्षामा नै विशेष ध्यान दिँदै गरेको उनले बताए । तरकारी, दूध किन्न जाँदासमेत रोग लाग्न सक्ने भएकाले जोगिनुपर्ने र मानिसक रूपमा स्थिर हुन नसकिएकाले अहिले उनले लेखनमा खासै चासो समेत नदिएका हुन् । हुन पनि, कसरी जोगिने भन्ने जोखिमकै जगजगी भएको यस्तो बेलामा के लेख्नु ? कसरी लेख्नु ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *