सिद्धबाबा खण्डमा सुरुङमार्ग बनाउन अन्तराष्ट्रिय ठेक्का आह्वान, ६ महिनामा ठेक्का लगाउने तयारी

काठमाडाैँ । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डमा पर्ने सिद्धबाबा खण्डमा सुरुङमार्ग बनाउन अन्तराष्ट्रिय ठेक्का आह्वान गरिएकाे छ ।

सडक विभाग गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले शुक्रबार सिद्धबाबा सुरुङमार्ग बनाउन अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो ।

पटकपटक दुर्घटना हुने भएकाले मृत्युमार्गको रुपमा चिनिने सिद्धबाबा सडक खण्डमा पहिरोका कारण सय जनाभन्दा धेरैकाे ज्यान गइसकेकाे छ ।

बोलपत्रमा डेढ महिनाको समय दिइएकाे छ । बाेलपत्रकाे अध्ययन लगायत सबै प्रक्रिया पूरा गर्दा अबको ६ महिनाभित्रमा ठेक्का सम्झौता गर्ने तयारी छ ।

सिद्धबाबा करिब साढे २ किलोमिटर खण्डमा सुरुङमार्ग र रकसेड निर्माण हुनेछ । सुरुङमार्ग १.२ किलोमिटर र रकसेड १.३ किलोमिटर लम्बाइको हुनेछ ।

सूरुङमार्गको प्रारम्भिक डिजाइन स्विस सहयोग नियोग (एसडीसी) ले तयार पारेको हो । एसडीसीले सिद्धबाबा खण्डको अध्ययन गर्न  पठाएकाे विज्ञ टोलिले २०७७ मा प्रारम्भिक डिजाइन तयार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

सुरुङमार्ग निर्माणमा भ्याट र अन्य खर्चगरी करिब १० अर्ब रुपैयाँ लाग्ने पूर्व अनुमान गरिएकाे छ । निर्माण खर्च भने ८ अर्ब रुपैयाँ छ । सुरुङमार्ग बनाउने अर्थमन्त्रालयले २०७६ मंसिरमा १० अर्ब १५ करोड रुपैयाँ बराबरको स्रोत सुनिश्चिता गरिसकेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − eight =