निफमा ‘आमा खान्डो’ उत्कृष्ट

काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) मा ‘आमा खान्डो’ उत्कृष्ट चलचित्र बनेको छ । महोत्सवमा फिचर चलचित्रको राष्ट्रिय प्रतिस्पर्धामा यो चलचित्र उत्कृष्ट घोषित भएको हो ।
महोत्सवमा फिचर चलचित्रको राष्ट्रिय प्रतिस्पर्धामा यो चलचित्र उत्कृष्ट घोषित भएको हो । पाँच दिनसम्म चलेको निफ उत्कृष्ट चलचित्रलाई पुरस्कृत गर्दै सकिएको हो ।
यस्तै, अभिनेतातर्फ पुरुष र महिला दुवै अवार्ड ‘लाटोकोसेरो’ले जित्न सफल भएको छ । यस चलचित्रबाट नवीन शिल्पकार र सरिता गिरीले अवार्ड जिते । सिरिस गुरुङको निर्देशन तथा छायाङ्कनमा तयार यो चलचित्रले छायाङ्कनतर्फ पनि अवार्ड जितेको छ ।
फिचरतर्फकै उत्कृष्ट पटकथाको अवार्ड ‘सरिता टेल मि हु आई एम’ले जितेको छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा फिचर चलचित्रको अवार्ड बात्र्या बसुको निर्देशनमा बनेको ‘डिक्स्नेरी’ले जितेको छ ।
यस्तै, छोटो चलचित्र तथा वृत्तचित्र विधामा रहेको अन्तर्राष्ट्रिय चलचित्रमध्ये दक्षिण कोरियाको ‘गड्स इटर डान्सेज’ले ५ सय डलरसहित बागमती पुरस्कार जितेको छ । यस्तै, नेपालबाट भने राजेशप्रसाद खत्रीको निर्देशनमा बनेको ‘जुलुङ्गो’ उत्कृष्ट हुन सफल भयो । यो चलचित्रले पनि ५ सय डलर पुरस्कार जितेको छ ।
फिनल्यान्डको चलचित्र ‘उबरफ्रग’ एनिमेटेड विधामा उत्कृष्ट हुन सफल भयो । यो चलचित्रले ७ सय ५० डलर सहित मञ्जुश्री अवार्ड जितेको छ । वृत्तचित्रतर्फको अवार्ड स्विजरल्याण्डको ‘रिटर्न टु दि लस्ट इडेन’ले जितेको छ । यस्तै, यो विधामा गणेश पाण्डे निर्देशित ‘सिभिल सोल्जर्स’ उत्कृष्ट हुँदै ५ सय डलर पुरस्कार पनि प्राप्त गरेको छ ।
बिहीबारदेखि सुरु भएको यो महोत्सवमा ६६ वटा चलचित्र प्रदर्शन गरिएको थियो ।








