सीमानाका बन्द गरी भ्याक्सिनको व्यवस्थापन गर्न व्यवसायीको आग्रह

विराटनगर । कोभिड- १९ को दोश्रो भेरिएन्टबाट संक्रमितको संख्या बढ्दै गएको र मानवीय क्षति दिनानुदिन वृद्धि भइरहेको बारेमा उद्योग व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् ।

महामारीको दोश्रो भेरिएन्टबाट काठमाडौं उपत्यकासहित अन्य स्थानहरुमा संक्रमितको संख्या उच्च दरमा वृद्धि भइरहेकाले यस संक्रमणबाट बच्न समयमै सचेत तथा सजग भई सम्भावित चुनौतिको सामना गर्न सुझावसमेत दिएका छन् ।

शुक्रबार प्रदेश १ मा क्रियाशील ठूला चार व्यापारीहरूको संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै कोभिड रोकथाम तथा नियन्त्रणका लागि तत्काल राज्यले धेरै काम गर्नुपर्ने भएकाले पहिलो काम सीमा नाकामा कडाइ गर्न आग्रह गरेका छन् । भारतमा कोरोनाको भयावह अवस्था रहेकाले सीमानाकामै स्वास्थ्य डेस्क राखी तत्काल पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाउन उनीहरुले आग्रह गरेका छन् ।

चौबिसै घण्टा बोर्डरमा सुरक्षाकर्मीहरुको व्यवस्था गरी आवतजावत पूर्णरुपमा बन्द गर्नुपर्नेसमेत उनीहरुको माग छ । कोरोनाविरुद्धको भ्याक्सिन सर्वसाधारणलाई उपलब्ध हुनेगरी अबिलम्व व्यवस्था मिलाउन पनि विज्ञप्तिमा अनुरोध गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘संघीय सरकारले आफनो सम्पूर्ण संयन्त्र परिचालन गरी भ्याक्सिन खरिदमा हुने प्रक्रियागत ढिलासुस्ती नगरी संघीय सरकारले जारी गरेको १५ दिनको यो लकडाउनको अवधिमा भ्याक्सिन खरिद गरी उद्योगी, व्यवसायी, कर्मचारी, श्रमिक तथा सर्वसाधारणहरुलाई लगाउने व्यवस्था मिलाउन अनुरोध गर्दछौँ ।’

उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुण्दडा, विराट व्यापार संघका अध्यक्ष सुजन थापा र नेपाल उद्योग परिसंघका प्रदेश अध्यक्ष भीम घिमिरेले संयुक्त विज्ञप्ति जारी गर्दै नेपालमा पर्याप्त मात्रामा अक्सिजन उत्पादन भएतापनि सिलिण्डरको कमीका कारण अक्सिजन अभाव जस्तो देखिएकाले सिलिण्डरको कमी हुन नदिन तत्कालै छिमेकी चीनलगायतका मुलुकबाट सिलिण्डरको व्यवस्था गरी अपुग अक्सिजनको व्यवस्था गर्न अनुरोधसमेत गरेका छन् ।

‘संक्रमितहरुको उचित व्यवस्थापन तथा उपचारका लागि क्वारेन्टिन र आइसोलेशन तथा सहज स्वास्थ्य सेवाको प्रभावकारी व्यवस्था गर्न अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘निषेधाज्ञा र लकडाउन कोभिड-१९ को रोकथाम एवं नियन्त्रणको अन्तिम विकल्प होइन ।’

निजी क्षेत्रले निषेधाज्ञा र लकडाउन धान्न नसक्ने कुरा गतवर्षको अनुभवले समेत पुष्टि गरिसकेकाले स्वास्थ्य मापदण्डहरूको पालना, स्वास्थ्य सेवाको क्षमता विस्तार र भ्याक्सिनेसन नै यस रोगको समाधान भएकाले यसतर्फ गम्भीर हुन उनीहरुले आग्रह गरेका छन् ।

प्रतिक्रिया