भारतबाट ल्याउँदै गर्दा संक्रमितको मृत्यु, परिवार भन्छ- सीडीओको अमानवीय व्यवहार

धनगढी । सुदूरपश्चिमेली नेपाली समाज भारत, दिल्ली राज्य समितिका पूर्वकोषाध्यक्ष मनोज भट्टको कारोनाका कारण मृत्यु भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका घर भई भारतको दिल्लीमा काम गर्दै आएका उनको दिल्लीमा अक्सिजन कमी भएपछि महाकाली अस्पताल महेन्द्रनगर ल्याउँदै गर्दा भारतको मुरादावादमा मृत्यु भएको परिवारले जनाएको छ ।
श्वासप्रश्वासमा समस्या देखिएको र दिल्लीमा उपचार सम्भव नभएपछि उनलाई कञ्चनपुरको महाकाली अस्पताल पुर्याउन पठाइएकोमा बाटोमै गम्भीर बिरामी भएर भट्टको मृत्यु भएको सुदूरपश्चिमेली नेपाली समाज भारतका अध्यक्ष दीपक मल्लले जानकारी दिए । भारतका दर्जनौं अस्पतालमा कोशिस गर्दा पनि भर्नाका लागि ठाउँ नपाएर नेपाल ल्याउँदै गर्दा मृत्यु भएको उनको भनाइ छ ।
कञ्चनपुरका सीडीओले बेवास्ता गरेको परिवारको गुनासो
बाटैमा निधन भएपनि आफन्तहरू बैतडी र कञ्चनपुरमा रहेकाले धार्मिक संस्कारका कार्य गर्न शवलाई नेपाल नै ल्याइएको तर नेपाली सीमा गड्डाचौकीबाट नेपाल ल्याउन नदिइएपछि सीडीओको सहयोग माग गरेकोमा सीडीओले बेवास्ता गरेको आफन्त र जनप्रतिनिधिले बताएका छन् ।
अन्त्येष्टि सरकारी मापदण्डअनुसार सुरक्षित रूपमा सरकारबाटै होस् भन्ने आग्रह गर्न परिवारको तर्फबाट कञ्चनपुरका सीडीओ महतोलाई फोन गरिएकोमा अन्त्येष्टि त कहाँ हो कहाँ, शव नेपाल प्रवेश नै गर्न नदिइएको मृतकका भाइ पदमराज भट्टले गुनासो गरे ।
गड्डाचौकी सीमानाकामा खटिएका सुरक्षाकर्मीले सीडीओको आदेश नभई शव लैजान दिन नसकिने बताएपछी बैतडीका प्रदेशसभा सांसद लिलाधर भट्टले सीडीओसँग महतोसँग कुरा गरेपनि सीडीओ महतोले भट्टको ‘मृत्यु प्रमाणपत्र’ चाहिने जवाफ दिएको उनले बताए । ‘दिल्लीमा अक्सिजन नपाएर नेपाल ल्याउँदै गर्दा गाडीमा रहेका बेला बाटोमा मृत्यु भएको व्यक्तिको मृत्यु प्रमाणपत्र कहाँबाट ल्याउने भनेर आग्रह गर्दा पनि सीडीओले मानेनन्, सीडीओ कुरै नबुझ्ने रहेछन्’ सांसद भट्टले भने ।
अस्पतालमा मृत्यु नभएकाले परिवारका सदस्यले मृत्यु प्रमाणपत्र दिनसक्ने अवस्था नभएको परिवारको भनाइ छ ।
कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको अन्त्येष्टि नेपाली सेनाको टोलीले सुरक्षित रूपमा गर्ने सरकारी निर्णय छ । त्यसका लागि सीडीओले आदेश दिनुपर्छ । सीडीओलाई आदेशका लागि र अन्त्येष्टि प्रक्रिया अगाडि बढाइदिन सांसदले आग्रह गर्दासमेत सीडीओले कुरै नबुझेको र अमानवीय व्यवहार देखाएको मृतकका भाइ पदमराज भट्टले बताए ।
उनी बैतडीबाट साँझ कञ्चनपुर पुगेपछि धनगढीमा रहेका आफन्तसहित महाकाली नदी किनारको भुजेलाघाटमा भट्टको दाहसंस्कार गरिएको थियो । ‘कञ्चनपुरका सीडीओले अन्त्येष्टिमा सहयोग गरेनन्, त्यसपछि कोरोनाको चुनौती हुँदाहुँदै पनि हामी आफन्तले आफैं अन्त्येष्टि गर्नुपर्यो,’ पदमले भने ।
मृतकका काका अर्जुन भट्टले शवलाई गड्डाचौकीबाट नेपाल ल्याउनसमेत नदिएको थाहा पाएपछि बुधबार साँझ आफू धनगढीबाट महेन्द्रनगर गएर दाहसंस्कार गरिएको बताए ।
घटनाबारे जानकारी दिन र सिमामा राेकिएकाे शबलाई बैतडी लगेर सरकारले ताेकेअनुसारकाे मापदन्ड पालना गरेर अन्त्येष्टि गर्न फाेन गर्दा फाेन नै नउठाएकाे पत्रकार श्याम भट्टले जानकारी दिए । सीडीओ महतोको व्यवहारप्रति पत्रकार भट्टले फेसबूकमा असन्तुष्टि पोख्दै स्टाटस लेखेका छन् ।
त्यसको जवाफमा सीडीओ महतोले आफू कोभिडकै विषयमा छलफलमा भएकाले फोन उठाउन नभ्याएको बताएका छन् ।









