सीमामा लापरबाही, आइसोलेसन ‘देखावटी’

धनगढी । भारतमा कोरोना संक्रमण तीब्र बनेपछि नेपाल फर्किएका कैलालीका तीन जनालाई त्रिनगर सीमा नाकामा चेकजाँचका क्रममा एन्टिजेन पोजिटिभ देखियो । एन्टिजेन विधिबाट कोरोना संक्रमण भएपछि उनीहरुलाई सीमा नाकाबाट एम्बुलेन्समा राखेर सिधै झण्डै १३ किलोमिटर टाढा रहेको आइसोलेसन सेन्टरमा लगियो । जुन आइसोलेसन धनगढी उपमहागनरपालिका वडा नम्बर १५ मा निर्माण गरिएको छ । बिहानको समयमा आइसोलेसन सेन्टरमा लगिएका उनीहरु केही घण्टामै अटोमा चढेर धनगढी बसपार्क पुगे र त्यहाँबाट आफ्नै तरिकाले सार्वजनिक यातायात (बस)मा चढेर घरतिर लागे ।
त्यसैगरी कैलालीको पूर्वी क्षेत्रमा घर भई भारतबाट आएर सीमा नाकाबाटै सोही आइसोलेसनसम्म पुगेका अन्य केही संक्रमित व्यक्तिहरु पनि अटो चढेर त्यसैगरी चौमालासम्म पुग्यो । कनरीबाट अटोमा छोटो बाटो हुँदै चौमाला राजमार्गसम्म पुगेका उनीहरु त्यहाँबाट भने पूर्वपश्चिम चल्ने सार्वजनिक बसमा चढेर सामान्य तरिकाले गन्तव्यतिर लागे । आइसोलेसनमा हुँदा निश्चित दुरी कायम गरेर बसेका उनीहरु केही छिनमानै भरिभराउ भएर चल्ने सार्वजनिक बसमा चढेर यात्रा गर्छन् । न उनीहरुको बारेमा सो बसमा यात्रा गर्ने यात्रुलाई थाहा छ न उनीहरुलेनै भन्छन् । यी दुई प्रतिनिधि घटना मात्रै हो । आइसोलसनबाट फर्किने प्रायः सबै संक्रमितहरु यसरीनै घरतिर लाग्छन् ।
संक्रमितका आफन्त सम्पर्कमा आएपछि उनीहरुलाई सुरक्षित तरिकाले घर पुर्याउने र १० दिनसम्म ‘होम आइसोलेसन’मा बस्ने भन्ने शर्तमा मात्रै उनीहरुलाई आइसोलेसन सेन्टरबाट छोड्ने गरिएको छ । सकेसम्म बिहानको समयमा आइसोलेसन सेन्टर पुगेका संक्रमितहरु सोही दिननै आफन्तको जिम्मा लागेर घर लाग्छन् । जसरी आइसोलेसन सेन्टरबाट शर्तअनुसार छोडिन्छ, त्यसरी व्यवहारमा लागु हुँदैन । संक्रमितहरु खुला रुपमा सार्वजनिक यातायात चढेरनै बाटो लाग्छन् । यसरी गएकाहरु पनि घरमा गएर सुरक्षित तरिकाले बसेका छन् वा छैनन् भनेर पनि कसैले हेर्दैनन् । प्रायः व्यक्तिहरुलाई भारतबाट आएका कुन व्यक्ति संक्रमित भएका छन् वा छैनन् भन्ने जानकारी पनि हुँदैन ।
सीमा नाकाबाट एम्बुलेन्समा चढेर आइसोलेसनमा पुगेका संक्रमितहरु केही समयपछि भने सार्वजनिक सवारी अटोलगायतका साधनमा चढेर घरतिर जान्छन् । उनीहरुले प्रयोग गरेको अटो रिक्सा केही छिनपछि आम सर्वसाधारणले प्रयोग गर्छन् ।
‘संक्रमित इमान्दार भएनन्’
आइसोलेसन सेन्टरबाट संक्रमितहरु यसरी घरतिर गइरहेका छन् भन्ने जानकारी त्यहाँ कार्यरत कमचारीलगायतलाई थाहा भएपनि नदेखेजस्तै गरिरहेका छन् । संक्रमितका आफन्त लिन आएमा उनीहरुको जिम्मा लगाएर छोड्ने गरिएको छ । आफन्तहरुले पनि आइसोलेसनको अगाडिबाटै विरामीलाई अलग्गै लिएर जस्तो गरेर मुख्य सडकसम्म वा धनगढी बस पार्क लिएर सार्वजनिक यातायातमै चढाएर बिरामीलाई घर लैजाने गरेका छन् । ‘हल्ला पो गर्नु हुँदैन, यहाँबाट बसपार्कसम्म मात्रै अटोमा लिएर जाने हो,’ संक्रमित व्यक्तिलाई लिन आइसोलेसन पुगेका टीकापुरका एक जनाले भने, ‘त्यहाँबाट बसमा चढेर आफ्नै तरिकाले घर जाने हो । तपाई पनि हल्ला नगर्नुहोला ।’
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले एक-एक व्यक्ति कसरी घर गइरहेको छ भनेर हेर्न नसकिने बताए । उनले व्यक्ति पनि अब आफै इमान्दार बन्नुपर्ने बताए । ‘आइसोलेसनबाट होम आइसोलेनमा बस्न आग्रह गर्दै आफन्तको जिम्मामा लगाउने हो,’ उनी भन्छन्, ‘सकेसम्म व्यक्तिनै इमान्दार हुनुपर्छ । घरसम्म सुरक्षित तरिकाले अलग्गै सवारी साधानमा जानुपर्छ ।’
सीमा नाकाबाट एन्टिजेन पोजिटिभ भएर आइसोलेसनमा हालसम्म ९१६ जना पुगिसकेका छन् । त्यसमध्ये ८६० जनालाई होम आइसोसेलनमा पठाइएको आइसोलेसनमा कार्यरत स्वास्थ्यकर्मी प्रेम रोकायाले जानकारी दिए । उनले शनिबारसम्म आइसोलसनमा ५६ जना संक्रमित रहेको बताए । ‘आइसोलेसनमा पुगेकाहरुमध्ये अधिकांश होम आइसोलसनमा बस्ने गरी गइसक्छन्,’ उनले भने, ‘केही टाढा घर भएका र १० दिनसम्म आइसोलेसनमै बस्न चाहेकाहरु मात्रै यहाँ हुन्छन् ।’ १० दिनसम्म बसेर पनि स्वास्थ्यमा समस्या नदेखिएकाहरुलाई घरमा केही दिन सुरक्षित रहने सल्लाह दिएर घर पठाइने गरिएको उनले बताए ।
सीमामा अस्तव्यस्त
अहिले पनि भारतबाट गौरीफन्टा नाका हुँदै दैनिक पाँच सयको हाराहारीमा मानिसहरु स्वदेश फर्किरहेका छन् । यसमध्ये अधिकांशको चेकजाँच हुन्छ । चेकजाँचपछि एन्टिजेन पोजिटिभ देखिएका व्यक्तिहरुलाई आइसोलेसनमा लगिन्छ ।
तर भारतबाट आएका सबै चेकचाँचको दायरा पुग्दैनन् । जनशक्ति व्यस्थापन अभावलगायतका कारण हुलमा आएका सबै व्यक्तिहरुलाई त्यहाँ कार्यरत कर्मचारी र प्रहरीले हेर्नै भ्याउँदैनन् । कोहीले चेकजाँचको लाइनमै नलागेर सबैका आँखा छल्दै फुत्किन्छन् । सीमा नाकामा बस्ने कर्मचारीले र प्रहरीले पनि उनीहरुको खासै मतलव राख्न नसकेको देखिन्छ ।
नाकामा अहिले जिल्ला स्वास्थ्य कार्यालयको ल्याव सेन्टर र कञ्चनपुरको पुनर्वास नगरपालिका र धनगढी उपमहानगरपालिकाको स्वास्थ्य टोली चेकजाँचका लागि खटाइएको छ । यसअघि सो भूमि कञ्चपुर जिल्लाकै भएपनि कैलाली मातहत रहने गरेर नाकामा जिल्ला स्वास्था कार्यालय कैलाली र धनगढी नगरपालिकाको टोली खटिएको थियो । अहिले कञ्चनपुरले सो भूमिलाई आफ्नो मातहत राखेपछि त्यहाँ दुई जिल्लाका स्वास्थ्यकर्मी खटाइएका छन् । दुई जिल्लाबाट स्वास्थ्यकर्मी खटाइएपनि एकआपसमा खासै समन्वय नभएर भारतबाट आउने नेपाली नागरिकको चुस्त दुरुस्त रुपमा चेकजाँच नभइरहेको स्थानीय बताउँछन् ।
तथ्यांकको आधारमा हेर्ने हो भने गौरीफन्टा नाका हुँदै फागुनदेखि हालसम्स नेपाल भित्रिएकामध्ये एन्टिजेन परीक्षण गराएका ११ हजार ८ सय १० जनामध्ये ९ सय ६ जनामा कोरोना पोजिटिभ देखिएको छ ।
संक्रिय संक्रमित ६ सय नजिक
पछिल्लो तथ्यांकअनुसार सुदूरपश्चिममा हालसम्म पीसीआर बिधिबाट गरिएको परीक्षणमा १४ हजार ६ सय ६९ जना कोरोना संक्रमण पुष्टि भएका छन् । त्यसमध्ये १४ हजार १०१ जना डिस्चार्ज भएका छन् । हालसम्म ५९ जनाको मृत्यु भएको छ । हालसम्म सुदूरपश्चिममा ५ सय ७२ जना सक्रिय संक्रमित छन् । जसमध्ये सबैभन्दा बढी कैलालीमा १ सय ८७ र कञ्चनपुरमा १ सय ३२ जना संक्रमित छन् । हाल अस्पतालमा ७७ जना उपचाररत छन् । थप संकास्पद पाँच जना पनि अस्पताल भर्ना छन् ।








