राजधानी बाहिर पहिलो पटक कलेजो प्रत्यारोपण

चितवन । चितवन मेडिकल कलेज (सिएमसी)ले कलेजोको सफल प्रत्यारोपण गरेको छ । राजधानी बाहिर पहिलो पटक सिएमसीले कलेजो प्रत्यारोपण गरेको हो ।

चितवन मेडिकल कलेजका कलेजो प्रत्यारोपण सर्जनसहित २१ जनाको समूहले चैत ८ गते आइतबार १२ घण्टा लगाएर कलेजोको सफल प्रत्यारोपरण गरेको जानकारी कलेजले बिहीबार विहान पत्रकार सम्मेलन गरेर दिएकाे हाे ।
चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले भरतपुर-१० की ५४ वर्षीया धनकुमारी लामामा कलेजो सफल प्रत्यारोपण गरिएको जानकारी दिए । धनकुमारीलाई उनकी ३४ वर्षीया छोरी उषा तामाङले कलेजो दान गरेकी हुन् । दुबैजनाकाे स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको पनि देवकोटाले जानकारी दिए ।

चितवन मेडिकल कलेजमा प्रत्यारोपणका लागि ४ सर्जन, ३ क्रिटिकल केयर र ३ एनेस्थेयोलोजिष्टसहित १० जना विशेष तालिमप्राप्त नर्स उपलब्ध रहेको कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिश्चन्द्र न्यौपानेले बताए । विदेशमा कलेजो प्रत्यारोपण महङ्गो हुने भन्दै आफूहरुले २५ लाख रुपैयाँमा नै कलेजो प्रत्यारोपणको सेवा उपलब्ध गराएको न्यौपानेको भनाइ छ ।

यसअघि मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा दुई, काठमाडौँको शिक्षण अस्पतालमा पाँचवटा कलेजोको सफल प्रत्यारोपण भएकाे छ ।

दुषित पानी र खाना, हेपाटाइटिस बी र सी, मध्यपान तथा मधुमेहका कारण कलेज बिग्रने गरेको कलेजो प्रत्यारोपण विशेषज्ञ डा. सागर पौडेलको भनाई छ । अस्पतालमा दैनिक ३० जनासम्म कलेजोका बिरामी आउने गरेका भन्दै पौडेलले तीमध्ये २० प्रतिशतको कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था रहेकाे पनि बताए ।

कलेजो प्रत्यारोपणमा संलग्न चिकित्सक डा. सञ्जयकुमार यादवले १८ देखि ५० वर्षसम्मका स्वस्थ व्यक्तिले कलेजो दान गर्न सक्ने बताए।

प्रतिक्रिया