तनहुँ जलविद्युतको बाँध निर्माण ठेक्का भियतनामी–नेपाली जेभी कम्पनीलाई

काठमाडौं । तनहुँ जिल्लामा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माण कार्यका लागि खरिद सम्झौता भएको छ ।

पहिलो प्याकेजका निर्माण कार्यका लागि न्यूनतम मूल्याङ्कित तथा सारभूत रुपमा प्रभावग्राही सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपालको संयुक्त उपक्रम (जेभी)बीच सोमबार खरिद सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा आयोजनाको प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडकातर्फबाट प्रबन्ध–सञ्चालक प्रदीप कुमार थिके र सोङ्ग दा–कालिका जेभीकातर्फबाट आधिकारिक प्रतिनिधि बिक्रम पाण्डेले हस्ताक्षर गरेका छन् ।

कम्पनीसँग १६ अर्ब ६२ करोड रुपैयाँ (प्रोभिजनल सम र मूल्य अभिबृद्धि करबाहेक)मा खरिद सम्झौता भएको हो ।

ठेकेदार कम्पनीले खरिद सम्झौता कार्यान्वयनमा आएको ५७ महिना( ४ वर्ष ९ महिना)भित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको प्रवन्ध–सञ्चालक थिकेले बताए ।

आयोजनाको प्याकेज १ (हेडवक्र्स) निर्माण कार्यको लागि निर्माण कम्पनी सिएमसी डि राभेना, इटालीसँग मिति १५ असोज २०७५ मा सम्पन्न खरिद सम्झौता रद्द भएपछि कम्पनीले १२ वैशाख २०७६ मा पुनः बोलपत्र आह्वान गरेको थियो । कम्पनीले उक्त बोलपत्र प्रक्रियामा प्राप्त कुनै पनि प्राविधिक बोलपत्र सारभूत रुपमा प्रभावग्राही हुन नसकेकोले सबै बोलपत्रहरु अस्वीकृत गरी एसियाली विकास बैंकको खरिद निर्देशिका अनुरुप मिति १६ फागुन २०७६मा दोश्रो पटक पुनः बोलपत्र आह्वान गरेको थियो ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारद्वारा जारी गरिएको देशव्यापी बन्दाबन्दी तथा अन्तर्राष्ट्रिय हवाई उडानमा लागू गरिएको प्रतिबन्धका कारण पटक–पटक बोलपत्र पेश गर्ने म्याद थप गरिएको थियो । अन्ततः तीन वटा अन्तराष्ट्रिय बोलपत्रदाताले बोलपत्र पेश गरेकोमा प्राविधिक बोलपत्रहरुको मूल्याङ्कनपश्चात सारभूत रुपमा प्रभावग्राही दुई वटा बोलपत्रदाताहरुको आर्थिक बोलपत्र खोलिएको थियो । आर्थिक बोलपत्रको मूल्याङ्कनपछि न्यूनतम मूल्याङ्कित सारभूत रुपमा प्रभावग्राही सोङ्ग दा–कालिका जेभीको बोलपत्र स्वीकृत गरी खरीद सम्झौता गरिएको हो ।

आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजको निर्माण कार्य जारी छ । ठेकेदार कम्पनीले केबुल सुरुङ्ग खन्ने कार्य सम्पन्न गरी भूमिगत विद्युत गृह खन्ने कार्यहरुको अतिरिक्त सर्ज ट्यांकतर्फको पहुँच सुरुङ्ग र बाँधतर्फ जाने सेती नदीको दायाँतर्फको पहुँच सुरुङ्गको निर्माण कार्य गरिरहेको छ ।

आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य भइरहेको छ ।

कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामिण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया