सूर्यगढीमा निःशुल्क स्वास्थ्य शिविर, पहिलो दिन हजारभन्दा बढीको सहभागिता

काठमाडौँ । नुवाकोटको सूर्यगढी गाउँपालिकाको आयोजनामा सुरु भएको निःशुल्क स्वास्थ्य शिविरमा अपेक्षाभन्दा धेरै बिरामीले जाँच गराउन नाम दर्ता गराएका छन् । शिविरको पहिलो दिन बिहीबार नै जाँच गराउन आउने बिरामीको संख्या एक हजारभन्दा बढी पुगेको हो ।
धेरै संख्यामा परीक्षण गर्न आएपछि आज र भोलिसम्म नै जाँच गरिने भएको छ । सूर्यगढी गाउँपालिकाको आयोजना, काठमाडौं मेडिकल कलेजको समन्वय तथा रुडेकन ग्रुप नुवाकोटको संयोजनमा बिहीबारदेखि सुरु भएको हो ।
बागेश्वरी माध्यामिक विद्यालय चोकदेमा आयोजित स्वास्थ्य शिविरको उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एंव पूर्वअर्थमन्त्री डाक्टर रामशरण महतले काठमाडौंबाट आएका विशेषज्ञ चिकित्सकमार्फत जाँच हुने र शिविरमा उपचार सम्भव नभएमा काठमाडौं लगेर उपचार गर्ने भएकाले बिरामीको लागी शिविर निकै लाभदायी रहेको बताए ।
यस्तै, शिविरमा उद्घाटन कार्यक्रममा गाउँपालिकाको अध्यक्ष सन्तबहादुर घलेले बिरामीको प्रभावकारी रुपमा परीक्षण गर्नको आग्रह गरे । जाँच गराउन आएका सबै बिरामीको रोगको पहिचान, उपचार, शल्यक्रिया तथा आवश्यक औषधि सबै गाउँपालिकाको तर्फबाट निःशुल्क व्यवस्था मिलाइएको उनको भनाई छ ।
गाउँपालिकाको उपाध्यक्ष मञ्जु बुढाथोकी (ढकाल)ले कोभिड १९ को जोखिम रहेको समयमा बिरामीको लागी अति आवश्यक औषधि पालिकाले निःशुल्क व्यवस्थापन गराएको स्मरण गराउँदै शिविरबाट लाभ लिन आग्रह गरिन् ।
निःशुल्क स्वास्थ्य शिविर सञ्चालनको लागी २० जना दक्ष चिकित्सकसहित आवश्यक उपकरणसमेत ल्याएर प्राविधिक सहयोग पुर्याएको काठमाडौं मेडिकल कलेजका महाप्रबन्धक नारायणप्रसाद दाहालले बताए । स्वास्थ्य सम्बन्धि सबै समस्याको उपचार सेवा उपलब्ध गराइने उनको भनाई छ ।
रुडेकन ग्रुप नुवाकोटका अध्यक्ष तथा कांग्रेस महासमिति सदस्य रमेशकुमार महतले सूर्यगढी पश्चात् शिविरलाई तादी, हुँदै क्रमशः जिल्लाको सबै पालिकाहरुमा सञ्चालन गर्न लागिएको जानकारी दिए ।









