जापानमा ७.३ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

टोकियो । जापानमा ७.३ म्याग्नीच्युडको भूकम्प गएको छ । स्थानीय समयानुसार शनिबार राति ११ बजेर ८ मिनेटमा फुकुसिमा प्रिफेक्चरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
स्थानीय अधिकारीकाअनुसार मियागी र फुकुशिमा यस भूकम्पको कारण कम्तीमा ३० जना घाइते भएका छन् ।
शुरुमा ७.१ म्याग्नीच्युडको भूकम्प मापन गरिएको थियो भने पछि ७.३ म्याग्नेच्युडको गएको जापान मौसम विभागले जनाएको छ । सुनामीको सम्भावना नभए पनि तटीय क्षेत्रमा रहेकाहरुलाई उच्च स्थानमा जानका लागि पूर्वजानकारी दिइएको छ ।
केन्द्रबिन्दु रहेको फुकुसिमा तथा मियागी प्रान्त, कान्तोलगायत क्षेत्रहरुमा समेत ठूलो धक्का महसुस भएको सञ्चार माध्यमहरुले जनाएका छन् । शनिबार गएको सो भूकम्प सन् २०११ को ९.० म्याग्नीच्युडको भूकम्पको नै पराकम्प भएको टोकियोको भूकम्प अनुसन्धान संस्थानका प्राध्यापक केन्जी सातकेले बताएका छन् । सन् २०११ को भूकम्प शक्तिशाली भएकाले १० वर्षपछि यसको पराकम्प देखिनु अचम्मको कुरा नभएको सातकेले बताएका छन्।
सन् २०११ मा गएको ९.० म्याग्नीच्युडको भूकम्पपछिको सुनामीको कारण करिब १९ हजार व्यक्ति मारिनुको साथै बेपत्ता भएका थिए । त्यसैबीच जापानको नामिएमा आइतबार पुनः ५.१ म्याग्नीच्युड भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था(युएसजिएस)ले जनाएको छ ।








