लिभरपुलको महत्वपूर्ण जित, लेस्टर सिटीलाई धक्का

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा साविक विजेता लिभरपुलले जित हात पारेको छ । लिभरपुलले वेष्ट ह्याम युनाइटेडलाई ३-१ ले हराएको हो ।
वेष्ट ह्याम को घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितका लागि मोहम्मद सालहले २, जर्जिनियो विनाल्डमले १ गोल गरे । वेष्ट ह्यामका लागि १ गोल डवसनले गरेका हुन् । जितसँगै २१ खेलबाट ४० अंक बनाएको लिभरपुल लेस्टर सिटीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको छ ।
गएराति नै भएको खेलमा शीर्षको होडमा रहेको अर्को टोली लेस्टर सिटी लिड्स युनाइटेडसँग ३-१ ले पराजित हुँदा लिभरपुलाई फाइदा पुगेको हो । हारसँगै चौथो स्थानमा झरेको लेस्टर सिटीको २१ खेलबाट ३९ अंक छ ।
शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा लिभरपुल ४ अंकले पछि छ । सिटीको २० खेलबाट ४४ अंक छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको २१ खेलबाट ४१ अंक पुगेको छ ।
टोटेनहम ब्राइटनसँग पराजित
गएराति नै भएको खेलमा टोटेनहम ब्राइटनसँग १–० गोल अन्तरले पराजित भएको छ । जितसंगै २१ खेलमा २१ अंक जोडेको ब्राइटन लिगको १७ औं स्थानमा रहेको छ ।
ब्राइटनले रेलिगेसन क्षेत्रको टिमविरुद्ध ३ अंकको अग्रता समेत बनाएको छ । ब्राइटनसँग पराजित भएपछि टोटेनहमले शीर्ष पाँचमा उक्लने मौका गुमाएको छ । टोटेनहम ३३ अंक जोडेर छैटौं स्थानमा रहेको छन् ।








