प्रचण्डलाई ओलीको शुभकामना–‘बैशाखमा केही सिट जित्नुस् कमरेड’

काठमाडौं । एकतायता विभिन्न समयमा विकसित राजनीतिक परिवेशका कारण प्रधानमन्त्री एवम् एकीकृत नेकपाका पहिलो वरीयताका अध्यक्ष केपी शर्मा ओलीले गत ५ पुषमा प्रतिनिधि सभा विघटन गरे । प्रतिनिधि सभा विघटन भएपछि देश आन्दोलनमा होमिएको छ ।

खासगरी अघोषित रुपमा विभाजित सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक ध्रवतिर लागेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल नै पनि सडकमा निस्केपछि बढी पेचिलो बनेको नेपालको राष्ट्रिय राजनीतिक समस्या अहिले विभिन्न सभा, सम्मेलन, गुटगत भेला अनि आफूनिकटका छलफलको वरीपरी घुमिरहेको छ ।

प्रतिनिधि सभा विघटनपछि एकअर्कालाई कारबाही गरागर गरेका निवर्तमान दुई अध्यक्ष ओली–दाहाल अहिले सार्वजनिक रुपमै एकअर्काप्रति आरोप–प्रत्यारोपमा उत्रिएका छन् । योबीचमा ओली प्रायः आफू निकटहरुसँगको भेटघाट तथा कार्यकर्ता भेलामै व्यस्त रहे भने दाहाल सडक सङ्घर्षका कार्यक्रमहरुलाई सम्बोधन गर्नाले फुर्सदिएनन् ।

त्यसो त दुई अध्यक्षबीच यस्तै–यस्तै सभा, सम्मलेन तथा भेटघाटकै क्रममा शृङ्खलाबद्ध रुपमा आरोपका वाणहरु फालाफाल गरिरहेका छन् । यसै सन्दर्भमा दाहालले मंगलबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित सडक सङ्घर्ष भेलामा ओली आगामी बैशाखबाट पत्तासाफ हुने बताएका थिए । दाहालले सम्बोधनका क्रममा भनेका थिए, ‘ओली आगामी बैशाखबाट पत्तासाफ हुन्छन् ।’

तर, यता ओलीले भने दाहालको यो भनाइलाई ‘काउन्टर’ दिएका छन् । दाहालले आफूनिकटका केन्द्रीय सदस्यहरुसँग दुई पटक भेला गरेकै स्थान बबरमहलको कार्की बैङ्क्वेटमै बुधबार कार्यकर्ता भेला गरेका ओलीले प्रश्न गरे, ‘साँच्ची म कसरी पो पत्तासाफ हुन्छु रे ?’

चुनाव हुँदैन पनि भन्ने, पत्तासाफ पनि भन्ने?
ओलीले प्रचण्डको कुरै नमिलेको बताए । बोलीमा ठट्यौलीपन मिसाउँदै ओलीले भने, ‘खै प्रचण्डजीले मलाई बैशाखदेखि पत्तासाफ हुन्छ पनि भन्नुभयो । फेरि चुनाव हुँदैन पनि भन्नुहुन्छ । चुनाव नभइ म कसरी पत्तासाफ हुने हो । कुरै मिलेन ।’

यसैबीच ओलीले बैशाखमा आम निर्वाचन भएरै छाड्ने अडान पुनः दोहोर्याए । उनको चुनौती थियो, ‘तपाईँहरुलाई लाग्छ कि बैशाखमा चुनाव हुँदैन भनेर ? यो भनेको के हो ? कसरी चुनाव हुँदैन ? चुनाव हुन्छ, हुन्छ, हुन्छ । तपाईँहरु ढुक्कै रहनुस् । चुनाव हुन्छ ।’ ओलीले बरु सबै नेताहरुलाई चुनावको तयारीमा जुट्न आग्रह गरे, ‘तपाईँहरुले ढुक्कै भएर चुनावको आवश्यक तयारी गरे हुन्छ । चुनाव हुनबाट कुनै पनि शक्तिले रोक्नेवाला छैन ।’

ओलीले आफू पत्तासाफ हुने चिन्ता नलिन आग्रह गर्दै दाहाललाई भने, ‘बरु कमरेड शुभकामना छ, तपाईँहरुले पनि केही सिट जित्नुस् । मेरो बारेमा चिन्ता नलिनुस् । मैले पनि जितुँला केही सिट त ।’

प्रचण्डजीको भविष्यवाणी कहिल्यै मिल्दैन
‘ओली बैशाखबाट पत्तासाफ हुन्छन् ।’ भन्ने प्रचण्डको भविष्यवाणी भविष्यवाणीमै सीमित हुने ओलीको तर्क छ ।

आफू अकस्मात् उपचारको लागि बैङ्कक जाँदा पनि मरेर काठको बाकसमा आउँछ भनेको तर, आफू जहाजको सिटमै बसेर आएको दृष्टान्त सुनाउँदै ओलीले भने, ‘प्रचण्डजीको भविष्यवाणी मेरो सन्दर्भमा कहिल्यै मिल्दैन । मिलेको पनि छैन ।’

प्रचण्डको ध्यान नै कसरी सत्ता कब्जा गर्ने भन्नेतिर मात्रै हुन्छ
ओलीले दाहालको ध्यान कहीँ पनि नपरेर खाली सत्ता कब्जामा मात्रै रहेको बताएका छन् । ‘प्रचण्डजीको ध्यान खाली सत्तामाथि मात्रै हुने रहेछ । उहाँ खाली कसरी सत्ता हत्याउने भनेर मात्रै सोच्नुहुँदोरहेछ’, ओलीले थप भने, ‘हामी सरकारमा गएको सत्ता कब्जा गर्न होइन, पैसा कमाउन होइन । हामी देश चलाउन सरकारमा बसेका हौं । सत्तामा बसेका साथीहरुलाई नै हराउन खोज्ने यो प्रवृत्तिले कसरी चल्छ सरकार ? कसरी चल्छ पार्टी ?’

आफ्नो स्वार्थपूर्तिको लागि जे पनि गर्न तयार हुनेहरुको सूचीमा प्रचण्ड पहिलो नम्बरमै पर्ने उल्लेख गरेका ओलीले भनेका छन्, ‘चुनाव जित्न अर्कै पार्टी चाहिने, सरकारमा जान अर्कै पार्टी चाहिने । के यो लोकतन्त्रमा चल्ने कुरा हो ?

प्रचण्डसँग सम्झौता टन्न भए, कार्यान्वयन पटक्कै भएन
‘प्रचण्डसँगको सम्झौताले मेरो एउटा ब्रिफकेश नै भरिएको छ । खाली सम्झौता मात्रै गर्ने उहाँ । सम्झौतालाई पालना गर्नुहुन्न । मान्नुहुन्न । सम्झौता टन्न भए, कार्यान्वयन भने एउटै भएनन् । अब के काम त्यो सम्झौताको ?’ ओलीले सम्बोधनको बीचमा भने, ‘सम्झौतै सम्झौता मात्रै ।’

पार्टी एकताको पहिलो प्रस्ताव पनि आफैँले गरेको सुनाउँदै ओलीले प्रचण्डलाई बाँदरको संज्ञा दिए । ‘बाँदरलाई रुखको हाँङ्गामा देखेर घरमा ल्याएको त घरै पो भत्काइदियो’, ओलीले भने, ‘जंगलमा बस्ने बाँदर घरमा नबस्ने नै रहेछ ।’

 

प्रतिक्रिया