श्रीराम सुगर मिल्सले किसानकाे बाँकी बक्याैता प्रत्येक दिन भुक्तानी गर्दै जाने

काठमाडाैं । राैतहटकाे गरूडास्थित श्रीराम सुगर मिल्सले किसानकाे बाँकी बक्याैता प्रत्येक दिन भुक्तानी गर्दै जाने जनाएकाे छ । श्रीराम सुगर मिल्सले एक विज्ञप्ति जारी गर्दै किसानकाे बक्याैता भुक्तानी प्रत्येक दिन गर्दै जाने जनाएकाे हाे ।

उद्योगले उखु किसानहरुबाट खरिद गरेको उखुको भुक्तानी गर्न बाँकी रहेको बक्यौता रकम भुक्तानीका लागी उद्योगको बैंक खातामा सम्पूर्ण रकम जम्मा गरि सकेको विज्ञप्तिमा उल्लेख छ । जारी विज्ञप्ति अनुसार उद्योगले पुस ३ गते १६ कराेड ४४ लाख ७० हजार ७ रूपैयाँ र पुस ५ मा थप ८ कराेड ८५ लाख ५७ हजार ५१९ रूपैयाँ गरी जम्मा २५ कराेड ३० लाख २७ हजार ५२६ रूपैयाँ भुक्तानीका लागि उखु किसानहरूकाे खाता रहेकाे बैंकहरुलाई निर्देशन समेत दिएकाे बताइएकाे छ ।

साेही निर्देशन अनुसार किसानहरुको खातामा रकम जम्मा भइरहेकाे श्रीराम सुगर मिल्सले जनाएकाे छ ।

किसानको बक्यौता रकम भुक्तानी नगरेको भन्दै उखु उत्पादक संघको नेतृत्वमा ४६ जना उखु किसानहरुले संयुक्त रुपमा श्रीराम सुगर मिल्सका सञ्चालकमाथि बुधवार जिल्ला प्रहरी कार्यालय रौतहटमा ठगी मुद्दा दायर गराएका थिए । श्रीराम सुगर मिल्सले मिल्सका सञ्चालकसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि शुक्रबारदेखि राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गरेको रकमबाट किसानको खातामा रकम पठाउन सुरु गरेको हाे ।

प्रतिक्रिया