मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचारहरु

नेकपा समस्याको समाधान स्थायी कमिटीले नै गर्छ

नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले विद्यमान नेकपा विवाद स्थायी कमिटीले नै समाधान गर्ने बताएका छन् ।
मकालु खबरसँगको कुराकानीका क्रममा नेता गजुरेलले पहिलेको विवाद पनि स्थायी कमिटीले नै समाधान गरेको भन्दै यो समस्याको समाधान पनि स्थायी कमिटीले नै गर्ने बताएका हुन् ।

समस्याको समाधान कसरी हुन्छ ? भन्ने मकालु खबरको जिज्ञासामा गजुरेलले भनेका छन्, ‘साझा प्रस्ताव तयार हुन्छ अनि समाधान हुन्छ । पहिलेको समस्या पनि स्थायी कमिटीले नै समाधान गरेको हो, अहिलेको समस्याको समाधान पनि स्थायी कमिटीले नै गर्छ । साझा प्रस्ताव तयार गरेर हुन्छ कि, जसरी हुन्छ स्थायी कमिटीले समाधान गर्छ । किनकी, विगतमा पनि यस्तै भएको हो ।’

यस्तै उनले नेकपा विवाद दुई अध्यक्ष मात्रै मिलेर समाधान नहुने बताएका छन् । विवाद तल्लो कमिटीहरुमा पनि पुगेको बताएको गजुरेलले भनेका यस्तो बताएका हुन् । जारी स्थायी कमिटी बैठक पुनः आउँदो २८ गते बस्दैछ ।

अस्पतालमा रहेका राप्रपा सांसद लिङ्देनलाई ओलीको फोन

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद राजेन्द्र लिङ्देनलाई फोन गरेका छन् । स्वास्थ्यमा खराबी देखिएपछि अहिले अस्पतालमा रहेका लिङ्देनलाई प्रधानमन्त्री ओलीले स्वास्थ्य अवस्थाबारे बुझ्नको लागि फोन गरेका हुन् ।

Nepali Congress Parti Office

ओलीको फोन लिङ्देनका छोरा स्वाधीनले उठाएका थिए । स्वाधीनका अनुसार ओलीले समस्याबारे आफूलाई जानकारी दिन आग्रह गरेका थिए । लिङ्देनका स्वकीय सचिव छत्र कडायतकाअनुसार हाल लिङ्देनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।

निमोनिया भएको पुष्टि भएपछि झापाको बिएण्डसी अस्पतालबाट सांसद लिङ्देनलाई ललितपुरको मेडिसिटी अस्पतालमा ल्याइएको छ । पछिल्लो समय चर्किएको राजावादी आन्दोलनमा समेत सक्रिय रहेका सांसद लिङ्देनले केही दिनअगाडिको प्रदर्शनलाई सम्बोधन गर्दै भनेका थिए, ‘यो त कास्टिङ्ग मात्रै हो ।’

‘स्वास्थ्य अनियमितता’ बारे छलफल गर्न स्वास्थ्यमन्त्री बोलाउँदै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितताका बारेमा छलफल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बोलाउने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल। फाइल फोटो

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका निकाय र नेपाली सेना मार्फत् स्वास्थ्य सामग्री ल्याउँदा भएका अनियमितताका विषयमा समितिले स्वास्थ्य मन्त्री ढकालसँग छलफल गर्ने भएको हो ।
त्यसका लागि आगामी बैठकमा स्वास्थ्य मन्त्री ढकाललाई बोलाउने तयारी भइरहेको समितिका सचिव डा. रोजनाथ पाण्डेले बताए ।

शुक्रबार थप १०४४ जनामा कोरोना पुष्टि, मृतक संख्या १६७४ पुग्यो

पछिल्लो २४ घण्टामा देशभर १ हजार ४४ कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (शुक्रबार) थप १ हजार २७१ जना निको भएका छन् । आज थप ११

सांकेतिक तस्वीर। मकालु खबर।

जनाको मृत्यु भएसँगै मृतक संख्या १ हजार ६७४ पुगेको छ । यस्तै आज ५१९ जना क्वारेन्टिनमा छन् भने सक्रिय संक्रमित संख्या १२ हजार १४८ रहेको छ । पछिल्लो अपडेटसँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ । संक्रमितमध्ये २ लाख ३२ हजार ८७२ जना निको भइसकेका छन् ।

कांग्रेसको निष्कर्ष : सरकारकै कारण राजावादी र विप्लव समूह सक्रिय 

प्रमुख विपक्षी दल कांग्रेसले सरकारकै कामका कारण देशमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपादेखि राजावादीसम्मको सक्रियता बढेको निष्कर्ष निकालेको छ । बिहीबार सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सो निष्कर्ष निकालेको हो ।

Nepali Congress Parti Office
फाइल फोटो।

बैठकमा विप्लव समूहद्वारा शिक्षक हत्यादेखि राजावादीको प्रदर्शनसम्मका घटनाको विषयमा छलफल भएको थियो । भ्रष्ट सरकारका क्रियाकलापकै कारण जनतामा निराशा छाएको र त्यसैको फाइदा उठाएर विप्लवदेखि राजावादीसम्म सक्रिय बनेको उसको निष्कर्ष छ । सरकारलाई खबरदारी गर्न अब सडक प्रदर्शन गर्ने सो बैठकले निर्णय पनि गर्यो ।

सरकारका गलत कदमविरुद्ध मंसिर २९ गते देशैभरि प्रभावकारी सडक प्रदर्शन गर्ने र त्यसलाई निरन्तरता दिने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार बैठकले मंसिर २९ को ७७ वटै जिल्लामा हुने सडक प्रदर्शनमा सहभागी बन्न सबै लोकतन्त्रप्रेमी नागरिकलाई आग्रह गरेको छ ।

पुरुष सांसदबाट सबैभन्दा धेरै महिला हिंसा हुने गरेको महिला सांसदहरुको खुलासा

महिला सांसदहरुले पुरुष सांसदहरुबाट सबैभन्दा धेरै महिला हिंसा हुने गरेको खुलासा गरेका छन् । लैंगिक न्यायका लागि संघीय सांसदहरुको समूहको बिहीबार सिंहदरबारमा भएको छलफलका क्रममा महिला सांसदहरुले कतिपय पुरुष सांसदहरुबाटै हिंसा हुने गरेको बताएका हुन् ।

राष्ट्रिय सभाकी सांसद डा. विमला राई पौडेलले संघीय संसदका पुरुष सांसदहरुबाटै महिला हिंसा भएका उजुरीहरु विभिन्न संघ संस्थामा परेको बताइन् । उजुरी परेपछि सांसदहरुले दबाब दिने गरेको त्यस्ता संघ संस्थाका सञ्चालिकाहरुले आफू समक्ष बताउने गरेको उनले खुलाइन् । महिला सांसदहरुको यो समूहले छाउपडीदेखि सांसदबाट हुने हिंसाको विरुद्धमा एकसाथ आवाज उठाउनुपर्ने पनि सांसद पौडेलले बताइन् ।

कांग्रेसको १४ औँ महाधिवेशन कार्यतालिका बदलिने

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन कार्यतालिका बदलिने भएको छ । कांग्रेसले कोभिड–१९ को सङ्क्रमणका कारण महाधिवेशन कार्य तालिका प्रभावित भएपछि महाधिवेशनको मिति संशोधन गर्ने तयारी गरेको हो ।

गत असार २२ गते केन्द्रीय महाधिवेशन आउँदो फागुन ७ देखि १० गतेसम्म गर्ने गरी कार्यतालिका निर्धारण गरेको भएपनि कोभिड–१९ कारण कार्यतालिकाअनुसारको क्रियाशिल सदस्यता र पार्टीको अन्तरिम संरचना समायोजन तालिका प्रभावित भइसकेकोले फागुनमै महाधिवेशन गर्न नसकिने भनेको छ ।

पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरण कार्य निर्धारित समयमै सम्पन्न नभएपछि अन्य अधिवेशन पनि प्रभावित हुने कांग्रेस सह–महामन्त्री प्रकाशशरण महतले बताए ।

कांग्रेसको विधानअनुसार आउँदो फागुन २० गतेसम्म १४ औँ महाधिवेशन उद्घाटन गरिसक्नुपर्छ । त्यसो नभए महाधिवेशन कार्यतालिका संसोधन गरेर जाने रणनीति छ । कांग्रेसको विधानमा पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको हुने र असाधारणस्थिति भएमा केन्द्रीय कार्यसमितिले त्यसको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने उल्लेख छ ।

काठमाडौंमा भाजपा नेताको राजनीतिक भेटघाट तीव्र

भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाईवा र सत्तारूढ नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङबीच भेटवार्ता भएको छ । सत्तारुढ नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलको निमन्त्रणामा नेपाल आएका चौथाइवाले बिहीबार बिहान नेता नेम्वाङसँग उनकै निवासमा भेटवार्ता गरेका हुन् । उक्त भेटमा नेकपा र भाजपाबीच भाइचारा सम्बन्ध विस्तार गर्नेबारे छलफल भएको जनाइएको छ ।

भारतीय नेता चौथाईवाले हिजो प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव विष्णु पौडेल ग भेटवार्ता गरेका थिए । त्यस्तै आजै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि उनले भेटवार्ता गरेका थिए । नेकपा विवादका बिच भारतीय नेताको भ्रमण निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकले दिए राजीनामा

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले गत कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् ।

बिहीबार बसेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को बैठकले कालिनको राजीनामा स्वीकृत गरेको प्रवक्ता किरण राईले जानकारी दिए । हाललाई बालगोपाल महर्जनलाई निमित्त प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको छ । कालिन सन् २०१९ मार्च १ मा नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

उनको प्रशिक्षणमा नेपालले ११ खेल खेलेको थियो । कोरोना महामारीपछि कालिन गत वर्ष चैत १४ गते स्वीडेन फर्किएका थिए । त्यसपछि उनी नेपाल फर्किएनन् । उनले स्वीडेनबाटै राजीनामा दिएको एन्फाले जनाएको छ ।

अमेरिकामा एक अफ्रिकी–अमेरिकीले मृत्युदण्ड पाए

संयुक्तराज्य अमेरिकामा संघीय कानुन बमोजिम एक व्यक्तिलाई बिहीबार मृत्युदण्ड दिइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो कार्यकाल सकिनै लाग्दा संघीय कानुन बमोजिम मृत्युदण्ड दिएको भन्दै चौतर्फी विरोध पनि भएको छ ।

इन्डियाना राज्यको टेरी हट कारागारमा ४० वर्षीय अफ्रिकी–अमेरिकी ब्रान्डोन बर्नार्डलाई सुईबाट घातक विषाक्त दिएर मृत्युदण्ड दिइएको हो । सन् १९९९ मा टेक्सासमा भएको एक हत्याकाण्डमा बर्नार्डको संलग्नता पुष्टी भएको थियो जतिबेला उनी १८ वर्षका थिए ।

कारागारमा बर्नार्डले राम्रो व्यवहार गरेको र उनीमा धेरै सुधार आएको भन्दै उक्त मृत्युदण्डलाई आजीवन काराबासमा परिणत गर्न झण्डै पाँच लाख व्यक्तिले लिखित अनुरोध गरेपनि संघीय अधिकारीहरुले त्यसलाई सुनुवाई गरेका थिएनन् ।

सन् १९९९ मा टेक्सासमा एक दम्पतीलाई लुटपाट गर्नेक्रममा बर्नार्ड सहित अरु चार किशोरहरुले ती दम्पतीलाई हत्या गरी उनीहरु चढेको कारमा राखेर आगो लगाइदिएका थिए । बर्नार्डले गोली नचलाए पनि आगो लगाउन मद्दत गरेका थिए ।

बर्नार्डका अर्का साथी एवं गोली चलाउने क्रिस्टोफर भियाल्भालाई गत सेप्टेम्बरमा मृत्युदण्ड दिइएको थियो । उनी पनि घटना हुँदाका दिन १९ वर्षका मात्र थिए । समूहका अरु सदस्यहरु भने घटना हुँदाका दिन १८ वर्ष नपुगेको भन्दै अदालतले सुधार गृहमा पठाएको थियो ।

प्रतिक्रिया