अर्थ विभाग प्रमुख पक्राउप्रति ‘विप्लव समूह’को आपत्ति

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले अर्थ विभाग प्रमुख पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ । उक्त समूहले एक विज्ञप्ति जारी गर्दै अर्थ विभाग प्रमुख प्रेम दर्नाल ‘विकल्प’सहित पक्राउ परेका दुई नेतालाई बिनासर्त रिहा गर्न माग गरेको हो ।

पार्टी अर्थ विभाग प्रमुखसमेत रहेका पोलिटब्यूरो सदस्य विकल्पसँगै पक्राउ परेका सञ्जीव नेपालीलाई रिहा गर्न सरकारसँग माग गरेको हो । प्रहरीले नख्खु क्षेत्रबाट अर्थ विभागका प्रमुख दर्नाललाई शुक्रबार दिउँसो अपहरण शैलीमा पक्राउ गरेको भन्दै विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ आपत्ति जनाएका हुन् ।

पार्टीको केन्द्रीय आर्थिक नीतिमा क्रियाशील उनीहरुलाई जबर्जस्ती चन्दा असुली र धम्कीको अभियोग पक्राउ गरिएको उनको आरोप छ । प्रकाण्डले उनीहरुको गिरफ्तारीले राजनीतिक स्वतन्त्रता र मानवअधिकारको घोर उल्लङ्घन भएको बताएका छन् ।

‘क्रान्तिका मान्छेहरुलाई निचतापूर्ण आक्षेप लगाउने, बदनाम गर्न कुचेष्टा गर्ने, झूट्टो मुद्दामा फसाउन अपराध गर्ने र शारीरिक तथा मानसिक यातना दिई कार्यकर्ताहरूको स्वास्थ्यमाथि खेलबाड गर्ने हर्कत गरियो भने उक्त कार्य पार्टीलाई कुनै पनि मूल्यमा स्वीकार्य हुने छैन’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसको भागीदार अपराधमा संलग्न तत्वहरू भएरै छोड्ने कुरा पनि पार्टी स्पष्ट गर्दछ ।’

प्रतिक्रिया