मकालु खबर दिनभर: यी हुन् आजका १० प्रमुख समाचारहरु (भिडिओसहित)

नेकपामा छुट्टै प्रतिवेदन पेश गर्दै प्रधानमन्त्री, १८ गते स्थायी कमिटी बैठक

पुनः १० दिनपछि बस्नेगरी आज बसेको नेकपा सचिवालय बैठक सकिएको छ । आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्को सचिवालय बैठकमा आफ्नो तर्फबाट राजनीतिक प्रतिवेदन पेश गर्ने जानकारी गराएका छन् ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा बसेको आजको बैठकमा आफूले अर्को बैठकमा आफ्नो तर्फबाट अर्को प्रतिवेदन पेश गर्ने बताएका हुन् । यससँगै आजको बैठक १० दिनसम्मको लागि स्थगित भएको हो ।

यस्तै आउँदो १८ मंसिरमा नेकपा स्थायी बैठक राखिने भएको छ भने २५ गते केन्द्रीय कमिटीको बैठक बोलाइने सहमति भएको अध्यक्ष दाहालका स्वकीय सचिव गंगा दाहालले जानकारी दिएका छन् । यसैबीच आजको बैठकमा महासचिव विष्णु पौडेलले सबै सचिवालय सदस्यहरुले सामूहिक राजीनामा दिनुपर्ने प्रस्ताव ल्याएका थिए ।

गगन गर्जिए–‘ओलीमाथिको प्रचण्डको ठहर अब सार्वजनिक सरोकारको विषय भइसक्यो’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद तथा युवा नेता गगन थापाले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीमाथि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको ठहर अब सार्वजनिक सरोकारको विषय भइसकेको बताएका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै नेता थापाले अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदनमार्फत् असक्षम, अनैतिक र भ्रष्ट भएकोले सरकारको नेतृत्व गर्न अयोग्य भएको भनी लगाएको ओलीमाथिको ठहर पखालेर नपखालिने बताएका हुन् । कसले कसलाई फकाउने र तर्साउने भन्ने कुरा आफैँले जान्ने टिप्पणी गरेका नेता थापाले यस्तो प्रवृतिले राजनीतिक मुद्दालाई कहीँ पनि नपुर्याउनेसमेत बताएका छन् ।

यता गत शुक्रबार बसेको नेकपा सचिवालय बैठकमा अध्यक्ष दाहालले ओलीको कार्यशैलीमाथि कडा टिप्पणी तथा आलोचना गर्दै १९ पृष्ठ लामो प्रतिवेदन प्रस्ताव पेश गरेका थिए ।

आजको कोरोना अपडेटः थप १२ जनाको मृत्यु, कतिले गुमाए ज्यान ?

नेपालमा कोरोना संक्रमणका कारण थप १२ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै गत २४ घण्टामा नेपालभर थप १ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । आजै थप ३ हजार ५ सय ३८ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । आजको थप अपडेटसँगै कूल संक्रमितको संख्या २ लाख १२ हजार ९ सय १६ जना पुगेको छ ।

संक्रमितमध्ये १ लाख ८२ हजार ७ सय ८० जना कोरोनामुक्त भएका छन् । आज काठमाडौं उपत्यकामा १ हजार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रपतिद्वारा औषधि अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि अध्यादेश जारी गरेकी छन् । कोरोना भाइरसको औषधि पत्ता लागेपछि नेपालमा आयातका लागि कानुनी प्रतिकूलता नहोस् भनेर सरकारले अध्यादेश सिफारिस गरेको थियो ।

राष्ट्रपति भण्डारीले ‘औषधि (तेस्रो संसोधन) अध्यादेश, २०७७’ बुधबार जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले बताए ।

अध्यादेश जारी भएपछि कोरोनाको खोप आयात गर्नका लागि सहज हुने बताइएको छ । संसद् अधिवेशन नभएको अवस्थामा सरकारले तत्काल कानुन जारी गर्नुपर्ने भए अध्यादेश ल्याउने व्यवस्था छ । यसरी जारी भएको अध्यादेश आगामी संसद् अधिवेशनबाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

तीनै तहका सरकार छाडा भएका छन्ः  माधव नेपाल

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी र सरकारमा गम्भीर समस्या देखिएकाले त्यसको समाधान गर्न ढिलाढाली गर्न नहुने बताएका छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा बोल्दै नेता नेपालले प्रदेश र स्थानीय सरकारहरू पनि छाडा भएको बताए ।

उनले पार्टीभित्र देखिएको विवाद र झगडाले पनि जनता र कार्यकर्तामा निराशा छाएको बताए। बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन उठाइएका प्रश्नको जवाफ दिन आफूलाई समय लाग्ने बताएका थिए ।

प्रधानमन्त्री ओलीले आफूलाई प्रचण्डले निराधार आरोप लगाएको भन्दै त्यसको जवाफ दिन १० दिन समय लाग्ने बताएका थिए ।

सरकारले विश्व बैंकसँग ४२ अर्ब ऋण लिने

नेपाल सरकारले विश्व बैंकसँग दुई छुट्टाछुट्टै परियोजनाका लागि ४२ अर्ब रुपैयाँ ऋण लिने भएको छ । सहरी पूर्वाधार विकास, वित्तीय क्षेत्र सशक्तीकरण तथा कोभिड–१९ प्रभावित अर्थतन्त्रको पुनरुत्थानका लागि सरकारले विश्व बैंकसँग ऋण लिन लागेको हो ।

उक्त ऋण सहयोगमध्येको १८ अर्ब रुपैयाँ सहरी सुशासन र पूर्वाधार विकास परियोजनामा खर्च गर्न लागिएको हो । प्रदेश १ र २ तथा पश्चिम नेपालमा गण्डकी र लुम्बिनी प्रदेशमा सहरी पूर्वाधार विकासमा यो ऋण परिचालन हुनेछ ।

विश्व बैंकले यो नेपालमा पहिलो सहरी क्षेत्र केन्द्रीत सहयोग भएको उल्लेख गरेको छ । सम्बन्धित नगरपालिकाहरुको प्राथमिकताका आधारमा नागरिक सहभागिता, नगरपालिकाहरुलाई उन्नत योजना र पूर्वाधारमार्फत् सेवाप्रवाह चुस्त बनाइने बताइएको छ ।

त्यसैगरी बजेटरी सहयोगको रुपमा २४ अर्ब रुपैयाँ सहयोग दिने सम्झौता पनि भएको छ । वित्तीय क्षेत्रको स्थायित्व, वित्तीय पहुँच विस्तार, वित्तीय सेवाको विविधिकरणमा परिचालन हुनेगरी विश्व बैंकले यो ऋण सहयोग दिन लागेको हो ।

सेयर बजारः नेप्से २३.३२ अंकले बढ्दा चार अर्ब ७९ करोडको कारोबार

तिहार बिदापछि कारोबार खुलेको पहिलो दिन आज सेयर बजार परिसूचक दोहोरो अंकले बढेको छ । कारोबार सुरु भएदेखि नै उकालो लाग्न थालेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.३२ अंकले बढेर बन्द भएको हो ।

तीन समूहमा गिरावट आए पनि कारोबार बन्द हुँदा परिसूचक एक हजार ७४१ अंकमा पुगेर रोकिएको छ । यस क्रममा आज ४ अर्ब ७९ करोड रूपैयाँ बराबरको एक करोड १६ लाख कित्ता सेयर किनबेच भएको छ ।

आज नेप्सेमा कारोबार भएका १२ मध्ये तीन समूहमा गिरावट आएको छ । बैंक १.२८, विकास बैंक २०.६ र जलविद्युत् समूहको उपसूचक १८.६१ अंकले घटेको छ ।

विश्वकप छनौटमा ब्राजिलद्वारा उरुग्वे २–० ले पराजित

विश्वकप फुटबलको छनौट अन्तर्गत नेपाली समय अनुसार बुधबार बिहान भएको खेलमा ब्राजिल विजयी भएको छ ।
विश्वकप २०२२ का लागि दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गतको खेलमा ब्राजिलले उरुग्वेलाई २–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा ७१ औँ मिनेटमा रातो कार्ड पाएर एडिन्सन काभानी बाहिरिएपछि उरुग्वे १० खेलाडीमा सीमित भएको थियो ।

पहिलो हाफमै गरेका दुई गोल ब्राजिलको जितमा निर्णायक बने । उसका लागि ३४ औँ मिनेटमा आर्थर मेलो र ४५ औँ मिनेटमा रिचार्लिसनले गोल गरेका हुन् । छनौट चरणमा अहिलेसम्म सबै चार खेल जितेको ब्राजिल १२ अंकसहित शीर्ष स्थानमा पुगेको छ ।

बुधबार बिहान भएको अर्को खेलमा पेरुलाई २–० ले पराजित गरेको अर्जेन्टिना १० अंकसहित दोस्रो स्थानमा छ । अवे मैदानमा भएको खेलमा अर्जेन्टिनाका लागि १७ औँ मिनेटमा निकोलास गोन्जालेज र २८ औँ मिनेटमा लौतारो मार्तिनेजले गोल गरेका हुन् ।

रुसी राष्ट्रपतिले बनाए आजीवन आफूलाई मुद्दा नलाग्ने कानून

रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले आफूलाई आजीवन मुद्दा नलाग्ने कानून बनाएका छन् ।

आफ्नो पकड रहेको रुसी संसद डूमाबाट उनले आफूलाई जीवित रहुञ्जेल कसैले पनि मुद्दा लगाउन नसक्ने कानून पारित गराएका हुन् ।

रुसी तल्लो संसदबाट पारित गरिएको यो कानून अनुसार अब पुटिन र उनको परिवारमाथि राष्ट्रपतिबाट बाहिर रहँदा पनि कुनैपनि प्रकारको आपराधिक मुद्दा चलाउन पाइने छैन । गत जुलाईमा गरिएको जनमत संग्रहले अनुमति दिएअनुसारकै यो कानून बनाइएको बताइएको छ । रुसको दुबै सदनमा पुटिनकै बहुमत रहेको छ ।

पुटिनको वर्तमान कार्यकाल सन् २०२४ मा सकिने भएपनि उनले चाहँदा अरु पनि बिना रोकतोक राष्ट्रपति पदमा रहिरहन संवैधानिक व्यवस्था पनि उनले गराइसकेका छन् ।

प्रतिक्रिया