आफुले काम गर्ने फ्याक्ट्रीको ९७ लाख चोरी गर्ने सुरक्षा गार्ड पक्राउ

चितवन । एक सुरक्षा गार्ड आफैंले काम गरेको फ्याक्ट्रीबाट चोरी गरेको आरोपमा ९७ लाख रुपैयाँसहित पक्राउ परेका छन् ।

बिहीबार राति भरतपुर महानगरपालिका–९ काँडाघारीस्थित एपोलो पेन्ट्स प्रा.लि.को भवन भित्र लकरमा रहेको उक्त रकम चोरी भएकामा उक्त रकम सोहि कम्पनीका काम गर्ने गार्डले चोरी गरेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाका अनुसार प्रहरीले सुरक्षा गार्ड कबिराज थापालाई उनकै क्वार्टरको खाटमनि झोलाभित्र र नजिकै झाडीमा लुकाइएको नगदसहित नियन्त्रणमा लिएको हो ।

चितवन प्रहरीले क्वाटरको खाटमुनि ४० लाख तथा फ्याक्ट्रीको भवन नजिकै रहेको झाडीमा ५७ लाख रुपैयाँ फेला परेको जनाएको छ ।

लकरबाट नगद चोरीका लागि ती व्यक्तिले हेक्सा व्लेड, फलामको रडबाट बनेको खुपी, बोरा र झोला प्रयोग गरेको भेटिएको छ । ४० वर्षीय ती व्यक्ति चितवनकै कालिका नगरपालिका–६ का हुन् । चोरी कसुरअन्तर्गत उनलाई नियन्त्रणमा राखेर घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया