वीपी प्रतिष्ठानमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय पुग्यो, अन्य हस्पिटलको दाँजोमा मृत्यु दर उच्च !

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय पुगेको छ । प्रतिष्ठानले आज विहान उपलब्ध गराएको तथ्यांक अनुसार कोभिड–१९ अस्पतालमा मृत्यु हुनेको संख्या एक सय पुगेको हो ।
कोभिड–१९ अस्पतालमा पछिल्लो पटक झापाकी २५ वर्षीय युवतीको मृत्यु भएको छ ।
प्रतिष्ठानमा कोरोना भएर उपचारका लागि भर्ना भएका १०८६ मध्ये ९११ जना भने निको भएर फर्किएका छन् । ९२ जना अझै उपचारको क्रममा रहेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार कोभिड प्रयोगशालामा अहिलेसम्म ६७,३१८ जनाको कोरोना स्वाब परीक्षण गरिएकोमा ६,८०७ जनालाई कोरोना पोजेटिभ भएको पुष्टि भएको छ ।

कोरोना संक्रमण भएसँगै संघ र प्रदेश सरकार मिलेर वीपी प्रतिष्ठानमा एक सय वेडको कोरोना हस्पिटल बनाएका थिए ।
साँढे १२ करोड लागतमा तयार गरीएको प्रतिष्ठानको कोभिड–१९ अस्पताल लेवल–३ अस्पताल हो । तथापि, साँढे १२ करोड खर्चेर बनाएको अस्पतालमा सामान्य अक्सिजन उपकरण तथा भेन्टिलेटरको पर्याप्त व्यवस्थापन नहुँदा कोरोना संक्रमितको मृत्यु दर बढेको आशंका छ ।
‘अन्य हस्पिटलहरुको तथ्यांक अनुसार वीपी प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु दर बढी छ । प्रतिष्ठानमा भर्ना भएको कोरोना संक्रमितको मृत्यूदर ८ प्रतिशत बढि देखियो ।’ प्रतिष्ठानकै एक चिकित्सकले भने ।
त्यसो त प्रतिष्ठानको कोभिड हस्पिटल लेवल–३ हस्पिटल भएकाले यहाँ गम्भिर अवस्थाका कोरोना संक्रमित बढि आउने गर्छन् । वीपी प्रतिष्ठानमा प्रदेश १ तथा प्रदेश २ बाट समेत संक्रमितहरु रेफर हुने गरेका छन् । गम्भिर प्रकारका संक्रमितहरू वीपी प्रतिष्ठानमा आउने भएकाले पनि मृत्यू दर बढेकाे हुनसक्ने देखिन्छ ।
भेन्टिलेटर विग्रँदा मृत्युदर बढ्यो !

प्रतिष्ठानको कोभिड हस्पिटलबाट उपलब्ध स्वास्थ्य सेवा कमजोर भएको भन्दै चौतर्फी विरोध भएको थियो । गम्भिर प्रकृत्तिका विरामीलाई भेन्टिलेटरमा राख्नुपर्ने भएपनि कोभिड अस्पतालमा जोडिएका भेन्टिलेटरले काम नगर्दा बचाउन सकिने संक्रमितको समेत स्वास्थ्योपचार नपाएर मृत्यु भएको भन्दै आशंका गरिएको थियो । कोरोना हस्पिटलको स्वास्थ्योपचार सुधार्न भन्दै धरानका नागरिक समाज तथा सरोकारवालाले उपकुलपति समक्ष ज्ञापनपत्र नै बुझाएका थिए ।
प्रतिष्ठानले स्थानीय मेडिकल सप्लायर्स चेतन अग्रवालमार्फत खरिद गरेका भेन्टिलेटर जडान गरेको चार महिनामै विग्रिएको पाइएको थियो । कोभिड हस्पिटलको व्यापक जनगुनासो आएपछि सुनसरी प्रमुख जिल्ला अधिकारीले समेत पटक–पटक अनुगमन गरेका थिए ।
गत बैशाखमै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबाट तामझाम पूर्वक उद्घाटन गरीएको कोभिड अस्पतालको भेन्टिलेटर ४ महिनामै विग्रिएर थन्किएको थियो ।काेभिड हस्पिटल उद्घाटन गरेकाे चार महिनासम्म पनि सञ्चालनमा आउन सकेकाे थिएन ।
डेढ करोड बढि रकममा खरिद गरिएका भेन्टिलेटर विग्रिएपनि मर्मतसम्भार गर्नसमेत प्रतिष्ठानले चासो नदिँदा कोभिडका विरामीले सास्ती पाएका थिए । पछि विभिन्न सञ्चारमाध्यममा प्रतिष्ठानले खरिद गरेको भेन्टिलेटरमा चलखेल भएको भन्दै समाचार प्रकाशित हुन थालेपछि मात्र उपकुलपति डा. ज्ञानेन्द्र गिरी झस्किएका थिए ।

कोरोना भएर उपचारकालागि वीपी प्रतिष्ठान पुगेका विरामीहरु धमाधम अन्यत्र लग्नुपर्ने अवस्था सृजना भएपछि स्थानीय सरोकारवाला नागरिक समाज, जिल्ला प्रशासन कार्यालयका प्रमुख तथा प्रदेश १ का सांसद तथा मन्त्रीहरुले समेत कोभिड अस्पतालको अनुगमन गर्दै उपकुलपतिलाई तत्काल सेवा सुधार्न निर्देशन दिएका थिए ।
२ वर्षको वारेण्टीमा प्रतिष्ठानले खरिद गरेका भेन्टिलेटरहरु मर्मतकालागि स्थानीय सप्लायर्स चेतन अग्रवालले चासो दिइरहेका थिएनन् । पछि भेन्टिलेटर खरिदमा चलखेल भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेपछि र सिडियोले समेत चासो व्यक्त गरेपछि सप्लायर्सले विग्रिएका भेन्टिलेटर बनाइदिएको थियो ।
प्रतिष्ठानका उपकुलपति र तिनका स्वकीय सचिब दिलिप भट्टराईले कोरोना हस्पिटल निर्माण तथा त्यसमा प्रयोग भएका उपकरण खरिदमा मेडिकल सप्लायर्ससँग मिलेर भ्रष्टाचार गरेको भन्दै चर्को विरोध भएको थियो ।
पछिल्लो समय भने प्रतिष्ठानको कोभिड हस्पिटलको स्वास्थ्य सेवा सुधार भएको बताइएको छ । चौतर्फी जनविरोध भएपछि प्रतिष्ठान व्यवस्थापनले कोभिड हस्पिटललाई व्यवस्थित गर्ने कार्य थालेको छ ।









