के तपाईँमा स्वास्थ्य समस्या देखियो, अब मोबाइल एप्लिकेशन सम्पूर्ण परामर्श

विराटनगर । विद्यमान अवस्थालाई ध्यानमा राख्दै क्यूरा हेल्थ मोबाइल एप्लिकेशन विराट नर्सिङ होममा लञ्च भएको छ । बुधबार (आज) विराटनगरमा एक कार्यक्रममार्फत् उक्त एप्लिकेशन लञ्च भएको हो ।
स्वास्थ्य क्षेत्रलाई अझ सरल बनाउनको लागि क्यूरा हेल्थले सहज वातावरण बनाउने आशासहित उक्त एप्लिकेशन लञ्च गरिएको एक सञ्चालक रजत अग्रवालले मकालु खबरलाई जानकारी गराए ।
उनका अनुसार उक्त एप्लिकेशनमार्फत् आफूले चाहेको डाक्टर, क्लिनिक र अस्पतालको आफ्नो अनुकूलअनुसार समय मिलाउन सकिनेछ ।
उनले भनेका छन्–‘क्यूरा हेल्थको मोबाइल एप्लिकेशनको माध्यमबाट आफूले चाहेको डाक्टर, क्लिनिक अनि अस्पतालमा आफ्नै समयमा सेवा लिन सकिन्छ । यसको प्रयोगबाट हामीले खोजेको अस्पताल वा डाक्टर समय खाली छ वा छैन भन्ने सम्पूर्ण जानकारी दिन्छ ।
जसको माध्यमबाट घरैमा बसेर नै आफ्नो समय बूक गर्न सक्छौं । यसले विभिन्न खाले स्वास्थ्य क्षेत्रहरु निजी तथा सरकारी स्वास्थ्य संस्थासँगै डाक्टरहरुबीच पनि समन्वय गराउनेछ ।’
यस्तै उक्त एपमा रहेको ‘टेलिमेडिसिन’को सहायताबाट बिरामीले घरैमा बसेर अडियो तथा भिडिओमार्फत् आवश्यक परामर्श लिन सक्ने बताइएको छ । यस्तै डाक्टर बिरामीबीचको समन्वयको लागि फोटोहरु आदान–प्रदान गर्न सकिने पनि सञ्चालकहरुको भनाइ छ ।
उक्त एपले विद्यमान परिस्थितिलाई अझै सहज बनाउने सञ्चालकहरुको भनाइ रहेको छ ।








