स्टार्टअप आइडियामाथि लगानी बढाउन सरकारसँग माग

काठमाडौं । समृद्धि स्कुल र विशाल फाउण्डेशनको संयुक्त आयोजनामा राजधानीमा सम्पन्न भएको योङ आन्ट्रपर्नस कन्ल्लेभ २०२० मा सहभागी युवा उद्यमी तथा विद्यार्थीहरुले स्टार्टअप आइडियामाथि लगानी बढाउन सरकारसँग माग गरेका छन् ।
गत कार्तिक २० गतेदेखि २५ गतेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा कन्क्लेभ स्टुडियोमार्फत ३ दर्जन अतिथि सहभागी भए भने वेबिनार मार्फत १ हजार भन्दा बढी युवा उद्यमी तथा विद्यार्थीहरूले सहभागिता जनाएका थिए । विभिन्न सेसनहरूमा बोल्दै युवाहरूले आफूहरूको आइडिया माथि सरकारले बिउ पुँजी र तालीमको अवसर प्रदान गरे नेपालमै केही गर्ने रहर रहेको बताएका थिए ।
विभिन्न सेसनमा बोल्ने सरकारका प्रतिनिधि, निजी क्षेत्रका वरिष्ठ उद्यमी र बैकंरहरुले उत्कृष्ट आइडिया भएका स्टार्टअपहरुलाई शून्य ब्याजदरमा कर्जा सरकारले उपलब्ध गराउन सके भविष्यमा धेरै ठुला ब्यवसायकारुपमा स्टार्टअपहरू बिस्तार हुने बताएका थिए ।
युवा उद्यमी तथा विद्यार्थीहरूमा केन्द्रित रहको यो कार्यक्रमले युवा विद्यार्थी वर्गलाई उद्यमशीलतामा लाग्न अभिप्रेरित गरेको तथा अगुवा उद्यमीहरूको उद्यम अनुभवबाट उद्यमशीलताका सम्भावित समस्या र चुनौती तथा प्रक्रियाको बारेमा ज्ञान आर्जन गर्न सक्ने एउटा महत्त्वपूर्ण अवसर भएको आयोजक संस्था विशाल फाउण्डेशनका अध्यक्ष नरेश प्रसाद श्रेष्ठले बताए ।
त्यसै गरी कोरोना भाइरस महामारीपछि संसारभर आर्थिक पुनर्उत्थानको एजेण्डा प्रमुखरुपमा उठ्ने भन्दै फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले आगामी दिनमा सरकारले सीप विकास र उत्पादनशील क्षेत्रमा सहुलियत कर्जाको व्यवस्था गनुपर्नेमा जोड दिए ।
पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, पूर्व अर्थमन्त्री एवं पूर्व सचिव शंकरप्रसाद कोइराला, बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलाल, राष्ट्रिय योजना आयोगका सदस्य डा.उषा झा, अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, सिटिइभीटीका सदस्य सचिव डा. पुस्परमन वाग्ले, प्रधानमन्त्रीका आइटी विज्ञ अस्गर अली, वरिष्ठ उद्यमी हरिभक्त सर्मा, हेमराज ढकाल, हेमाकुमारी अधिकारी, सुदिप आचार्य, बैंकर मनोज ज्ञवालीलगायतका स्पिकरहरूले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
प्रत्येक वर्ष कार्यक्रमलाई निरन्तरता दिने र यस्ता कार्यक्रमले युवा, विद्यार्थीलाई उद्यमी बन्न अभिप्रेरित गर्ने आयोजकको भनाइ रहेको छ ।








