पुष्पखेतिमा युवाको जाँगर, छैन उचित मूल्य

- ध्रुवराज खनाल
चितवन । चितवन राप्ति नगरपालिकाका अभियान पाठक र अन्जन थपलिया तिहारका लागि सयपत्री फूल तयार गर्न व्यस्त छन् । पूर्वी चितवनमा विरलै मात्रामा पुष्प खेती हुँदै आएको छ । व्यावसायिक रुपमा यहाँका यी दुई युवाहरुले सयपत्रीको खेती सुरु गरेका छन् । नाताले उनिहरु दाजुभाइ हुन् ।
अघिल्लो वर्षदेखि सुरु गरेपनि यो वर्ष भने उनीहरूले क्षेत्रफल विस्तार गरेर पुष्प खेतीलाई व्यावसायिक बनाएका हुन् । गत वर्ष ३ कट्ठामा खेती गरिएकोमा यस वर्ष भने ७ कठ्ठा पुराएका छन् । २२ र २३ वर्षीय यी युवाहरुले तिहारका लागि झन्डै ३ हजार मालालाई पुग्ने सयपत्री फूल तयार गरेका छन् । ‘तिहारलाई २ हजार माला अर्डर आइसक्यो । माला आफैँले तयार गरेर पठाउने गरेका छाैँ,’ युवा किसान अभियान पाठकले भने ।
एक वर्षमा तीन सिजन फूल उत्पादन हुने भन्दै पाठकले तिहारका लागि मात्र ३ हजार मालालाई पुग्ने फूल तयारी अवस्थामा रहेको बताए । अघिल्लो वर्ष एउटा मालाको ८० रुपैयाँमा बिक्री गरेपनि यस वर्ष त्यो भन्दा आधा कममा बिक्री गर्नु परेको उनको गुनासो छ । ‘गत साल अर्डर अनुसार नै प्रति माला ८० रुपैयाँ सम्म पाएका थियौँ । अहिले त्याेभन्दा आधा रकममा मात्रै बिक्री भएको छ, ’ पाठकले भने । उनीहरुले होलसेलरलाई बिक्री गरेका हुन् ।
कोलकत्ताबाट ल्याएको बीउ उमारेर खेती गरिएकाे अर्का युवा किसान अन्जन थपलियाले बताए । बीउ राखेको एक महिनामा बिरुवा तयार हुने र त्यसबाट ८० वटा थुंगा फुल उत्पादन हुने थपलियाले जानकारी दिए ।
थपलिया कृषिका विद्यार्थी समेत हुन् । उनीहरूले ७ कट्ठामा ७ हजार ५ सय बिरुवा लगाएका छन् । तिहार अघि उनिहरुले ७ सय माला फूल बिक्री गरिसकेका छन् । न्यून लगानी भएपनि मेहनत भने गर्नुपर्ने युवा किसान थपलियाले अनुभव सुनाए ।
फूलखेतीमा उचित मूल्य नपाउने समस्या बाहेक बिउबिजन, बजार, झार आउने, भण्डार, खुल्ला सिमाना लगायत समस्या रहेको उनकाे भनाइ छ । राप्ती नगरपालिकामा व्यावसायिक रुपमा फुलखेती गर्ने पाठक र थपलिया मात्र छन् ।








