के नेकपाको फुटपछि मध्यावधि निर्वाचन होला ?

काठमाडौं । पछिल्लो समय दुई तिहाई सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओली आफैं संकटमा परेका छन् । पार्टीभित्रको अन्तरसंघर्षमा आफ्नै पार्टी भित्रकाले राजिनामा मागेपछि ओली कमजोर हुँदै गएका हुन् ।
खासगरी सत्ताधारीभित्र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री केपी शर्मा ओलीविच विवाद छ । सरकार चलाउने र पार्टी सञ्चालन गर्ने सन्दर्भमा दुई विचको जुहारीले इतिहासमै सबैभन्दा बलियो भएको कम्युनिस्ट सरकार अलोकप्रियताको शिखरमा चढ्न थालेको छ । सत्तारुढ नेकपा भित्रको बखेडाले मुलुकलाई मध्यावधि निर्वाचनमा त धकेल्दैछैन ? आशंका उब्जिएको छ ।
यदि अहिलेको अवस्थामा नेकपा फुटे त्यसले नेकपालाई त सिध्याउँछ नै मुलुकको राजनीतिमा समेत ठूलै प्रभाव पार्ने देखिएको छ । ‘लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात पहिलो पटक स्थायी सरकार गठन भएको थियो, नेकपा भित्रको रडाँकोले स्थायी सरकार ढले पार्टीलाई मात्र हैन, मुलुकको लागि पनि विडम्बना हुनेछ ।’ नेकपा एक केन्द्रीय सदस्यको धारणा छ ।
अहिले सत्ता पक्ष र विपक्षमा नेकपा फुट्दाका संभावित परिणामको विष्लेषण भइरहेको छ । दुई तिहाईकै सरकार भएपनि ओली सरकार इतिहासकै अलोकप्रिय सरकार हो । राष्ट्रिय अन्तराष्ट्रिय परिस्थिति, कोरोना संक्रमण रोकथाम, नियन्त्रण र नागरिकको स्वास्थ्योपचारमा सरकारले खेलेको भूमिका, लामो समयको लकडाउनबाट विपन्न नागरिकले भोग्नु परेको सास्ती तथा विभिन्न भ्रष्टाचारका काण्डका कारण जनताको नजरबाट ओली सरकार गिर्दै गएको छ । पार्टीभित्र आन्तरिक कलह बढेर पार्टी फुटाउने सम्मको परिस्थिति आउनु भनेको नेकपा अब अवसानको पथमा लम्कनु हो ।
शिर्ष नेताहरु नै एकता विरोधी !
नेकपा भित्रको रडाँको कुनै ‘महाभारत’ हैन । शिर्षस्थ नेताहरुको समुचित व्यवस्थापन नभइदिँदा नेकपा फुटको संघारमा पुगेको हो । खासगरी पहिलो नेतृत्वका नेताहरु बामदेव गौतम, झलनाथ खनाल, माधबकुमार नेपाल लगायतको व्यवस्थापन हुन नसक्दाको परिणाम हो । र, यी नेताहरुको व्यवस्थापन हुने समय भनेको एकताको महाधिवेशन नै हो । तर, नेकपाको एकताको महाधिवेशन परपर सर्दैछ ।
तत्कालिन माओवादी केन्द्र र नेकपा एमालेविच एकता भएका बेला एक वर्षभित्र एकताको महाधिवेशन गर्ने सहमति भएपनि शिर्ष नेताहरुको व्यवस्थापनकै कारण अहिलेसम्म हुन सकिरहेको छैन । पार्टीका दोस्रो तहका नेता तथा आम कार्यकर्ताहरु अझैपनि एकताका लागि लचकदार भएर उभिएपनि शिर्ष नेताहरु ‘अहम्’को भावनाबाट गुज्रिइरहेका छन् । नेकपालाई फुटको संघारमा पुर्याउने शिर्ष नेताह हुन्, दोस्रो तहका नेता तथा कार्यकर्ता हैनन् । ‘नेकपाका शिर्ष नेताहरु नै एकता विरोधी हुन् । उनीहरुको व्यक्तिगत स्वार्थका कारण जनता र अपेक्षा मुलुकले दुखः पाए ।’ नेकपा सुदुरपश्चिम प्रदेश कमिटिका एक सदस्य भन्छन् ।
नेकपा फुटे फाइदा कसलाई ?
नेकपा फुटेर गए त्यसको प्रत्यक्ष फाइदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई पर्न जान्छ । उसैपनि प्रमुख प्रतिपक्षमा रहेर सरकारलाई काउन्ट दिन नसकिरहेको कांग्रेसले नेकपा फुटे गतिलै नारा पाउने छ । त्यो नारा हो–‘कम्युनिस्टहरु कहिल्लै जनताका पक्षमा हुँदैनन्, उनीहरुले अवसर पाएपनि गर्न सक्दैनन् ।’ कांग्रेसले संसारबाट निरंकुश कम्युनिस्ट पतन हुँदै गएको विषयलाई नै मलजल गर्नेछ र, चुनाबी नारा बनाउने छ । मध्यावधि होस् वा आम निर्वाचन अब नेकपालाई पुनः जनताका घरदैलोमा गएर मत माग्ने एजेण्डा छैन ।
संभव छ मध्यावधि निर्वाचन ?
बर्तमान संविधान अनुसार प्रतिनिधिसभा निर्वाचनबाट बहुमत प्राप्त दलले सरकार बनाउँछ । कुनै पनि दलको बहुमत नभएमा गठबन्धनको सरकार बन्छ । त्यो पनि सम्भव नभएमा ठूलो दलको नेतृत्वमा अल्पमतको सरकार बन्न सक्ने परिकल्पना संविधानले गरेको छ ।
अल्पमतको सरकारले पनि ३० दिनभित्र विश्वासको मत लिन नसकेमा संविधानको धारा ७६ (७) अनुसार प्रधानमन्त्रीको सिफारिसमा संसद् विघटन हुने र देश नयाँ निर्वाचनमा जाने व्यवस्था छ । अहिलेको परिस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतको होइन, बहुमतप्राप्त दलको नेताका रूपमा प्रधानमन्त्री भएका छन् । यसकारण उनी बहुमतको सरकारको रुपमा पदमा रहेकाले तत्कालै संसद विघठन गरेर मध्यावधिमा जाने अवस्था छैन ।
तर, नेकपा फुटेर गएको अवस्थामा संसदमा सरकार विरुद्ध अविस्वासको प्रस्ताब दर्ता गर्ने दलले विस्वासको मत लिए सरकार गठन गर्न सक्छ । नेकपा फुटको अवस्थामा गइ हाले हुने यहि हो । मध्यावधि निर्वाचन अहिलेको अवस्थामा हुन सक्दैन । संविधानले पनि मध्यावधि निर्वाचनको बारेमा व्यवस्था गरेको छैन ।
अहिले नेकपामा पार्टी फुटको अवस्थामा जानसक्छ भनेर धेरै भाषणबाजी स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै आएका छन् । र, ओलीले पार्टी फुटाएर गए नेकपालाई घाटा त हुन्छ नै स्वयं ओलीको राजनीति पनि समाप्त हुन सक्छ । तसर्थ, ओलीले पार्टी फुटाउने सपना देख्नु आफ्नै खुट्टामा बञ्चरो हान्नु हो ।
त्यसो त पार्टी फुटे दाहाल पक्षलाई पनि केही फाइदा छैन । सरकार सञ्चालनमा भागवण्डा खोजिरहेका दाहालले ओलीलाई बाहिर पठाएर एकलौटी रुपमा नेकपाको बागडो संहाल्छु भन्नु ‘प्वाल परेको डुंङ्गा’मा सवार हुनु हो । किनभने नेकपामा ओली पक्ष मात्र हैनन, बामदेव, माधब नेपाल पक्षपनि उत्तिकै बलियो छन् । जसले कुनैपनि बेला उनका विरुद्ध मोर्चाबन्दी गर्न सक्छन् । अहिलेपनि पूर्व माओवादीको एक झुण्ड ओली पक्षसँग नजिक छ ।
निकास के ?
मुख्य तः नेकपालाई फुटबाट जोगाउने हो भने, ओली र दाहालले त्यागको राजनीति गर्नै पर्छ । अहिलेको अवस्थामा माधब नेपाल, झलनाथ र बामदेब गौतम भन्दापनि ओली र दाहाल विचको रडाँको छ । यी दुईले मन माझामाझ गरेर एकताको महाधिवेशनसम्म एक भएर गए कुनै समस्या छैन । नेपाल, खनाल र गौतम भनेका त दुई जनाविचका अवयव मात्र हुन् ।








