प्रेस काउन्सिल नेपालले गर्यो चितवनका पत्रकारसँग अन्तरक्रिया

काठमाडौँ । प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ चितवनको संयोजनमा चितवनमा पत्रकार आचारसंहिता र मिडियामा कोभिड –१९ ले पारेको प्रभावबारे अन्तरक्रिया सम्पन्न भएको छ ।
बिहिबार भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै काउन्सिलका सदस्य एवं नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सबै मिलेर सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने बताएका छन् ।
उनले कोभिड–१९ ले पारेको असरका बीच पनि प्रेस काउन्सिलले आफ्नो सेवा प्रवाह, गुनासो सम्बोधन र मिडिया अनुगमनलाई निरन्तरता दिएको बताउँदै हालसम्म छापा अन्तर्गत ३९ उजुरी परेकोमा ३४ फछ्यौट र ५ वटा प्रक्रियामा रहेको तथा विद्युतीय अन्तर्गत १२७ उजुरी, ८६ फछ्यौट र ४१ वटा प्रक्रियामा रहेको जानकारी दिए ।
कोरोना संक्रमणको उच्च जोखिमका समयमा पनि काउन्सिलबाट पत्रकार, मिडिया र यसक्षेत्रको समस्या र समाधानका लागि काम भइरहेको बताए । सदस्य आचार्यले काउन्सिलले जिल्ला जिल्लामा पुगी कोरोनाले पत्रकारिता क्षेत्रमा पारेको प्रभावबारे जानकारी लिएर सरकारलाई सुझावसहितको प्रतिवेदन बुझाएको बताए ।
कोरोनाको बहानामा सञ्चारगृहमा कार्यरत पत्रकार निकालिएका पारिश्रमिक नपाएका उजुरीहरु आएको भन्दै उनले संकटका बेला मिडिया सञ्चालकहरू जिम्मेवारीबाट पन्छिन नहुने जनाए । समस्या आएपछि मिडिया सञ्चालकहरुले पत्रकारहरुलाई बेतलवी बिदामा राख्ने गरेको भन्दै उनले मिडियामा रहेका समस्या समाधानमा सबै पक्ष सचेत हुनुपर्ने बताए ।
कोरोना संक्रमणबाट प्रेस काउन्सिल पनि अछुतो नरहेको भन्दै काउन्सिलमा ८ जना कर्मचारी संक्रमित भएको र दुईजना निको भइसकेको जानकारी दिए । श्रमजीवि पत्रकारहरुको हक हितका लागि सम्झौताहिन ढङ्गले काम गर्ने बताउँदै उनले भने “श्रमजीवीको पक्षमा कुनै सम्झौता हुन सक्दैन ।” नेपालमा पत्रकारिता क्षेत्रमा भएका कानून कार्यान्वयनमा आउन नसक्दा कोरोना कहरको समयमा पत्रकारिता क्षेत्रमा समस्या आएको उनको भनाई थियो । “कानुनमा भएका कुरा कार्यान्वयनमा आउन नसक्दा अहिले समस्या आएको हो ।”
समानुपातिक विज्ञापन प्रणाली, पत्रकार कल्याण कोषमा विज्ञापनको दश प्रतिशत रकम राख्ने, लेखन क्षमता अभिवृद्धि गर्ने लगायतका कार्यक्रम गर्ने तयारी भइरहेको आचार्यले जानकारी दिए ।
मिडिया बन्द हुनु जनताको आवाज बन्द हुनु भएको भन्दै उनले स्थानीय तहले पनि अहिले सहयोग गर्नुपर्ने बताए । स्थानीय तहले शिक्षा र चेतनामूलक सन्देश मिडियाबाट प्रकाशन, प्रसारण गरेर सहयोग गर्नुपर्नेमा जोड दिए । देशभरमा ४ सय दश पत्रकारलाई कोरोना सङ्क्रमण देखिएको जानकारी दिइएको थियो । तीमध्ये ४ जनाको मृत्यु भइसकेको र ८० जना उपचारका क्रममा रहेका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले जिल्लामा दश पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको बताए । जिल्लामा २१ अनलाईन, चार टेलिभिजन, २३ एफएम रेडियो, ६ दैनिक पत्रिका र १६ वटा साप्ताहिक पत्रिका सञ्चालनमा रहेका छन् ।
सो अवसरमा प्रेस संगठन नेपालका केन्द्रीय सदस्य शालिग्राम नेपाल, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, पत्रकार तिलकराम रिमाल, कोमलचन्द्र भगत, रमेश पौडेल, रमेशकुमार पौडेल, राजेश घिमिरे लगायतले अहिलेको अवस्थामा सञ्चार गृह सञ्चालनका लागि समेत कठिन भएको बताएका थिए ।









