प्रधानमन्त्री र भारतीय सेनाध्यक्षवीच भेटवार्ता

काठमाडौं ।  नेपाल भ्रमणमा आएका भारतीय सेनाध्यक्षले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष भेटवार्ता गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका सेनाध्यक्ष मनोज मुकुन्द्र नरवणेबीच आज दिउसो भेटवार्ता भएको हो ।

तीन दिनअघि नेपाल भ्रमणमा आएका नरवणेले शुक्रबार स्वदेश फर्किनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका हुन् ।
भेटमा प्रधानमन्त्रीसँगै उनका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल पनि सहभागी छन् । भने, नरवणेसँगै नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्रा पनि सहभागी रहेका छन् ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाल र भारतका बीचमा सदिऔं पुरानो विशिष्ट सम्बन्ध रहेको बताएका छन् । उनले दुई देशका सेनाप्रमुखहरुलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको स्मरण गर्दै दुई देशविच भाइचाराको सम्बन्ध अझ प्रगाढ भएको बताएका छन् ।

प्रधानमन्त्रीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवाद मार्फत् समाधान हुने विश्वास ब्यक्त गरेका छन् ।

नेपाल भ्रमणका क्रममा भारतीय सेनाध्यक्ष नरवणेले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए । उनले हेलिकप्टर मार्फत आजै सोलुखुम्बु पुगेर शगरमाथाको अवलोकन गरेका थिए । नरवणे आज साँझ ५ बजे आफ्नो विशेष विमानबाट स्वदेश फर्कने छन् ।

प्रतिक्रिया