‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ हटाएको प्रति डा. बाबुरामको आपत्ति,‘दालमा कालो छ है !’

काठमाडौं । सरकारले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेको प्रति डा. बाबुराम भट्टराईले कडा टिप्पणी गरेका छन् । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. भट्टराईले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारको निर्णयको प्रतिवाद गर्न पनि आह्वान गरेका छन् ।

यस्तो निर्णय गर्नुमा उनले केही गडबडीको आशंका समेत गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले सामाजिक सन्जाल ट्वीटरमा लेखेका छन् ‘यो स्वीकार्य छैन । दालमा कालो छ है ! सबैले प्रतिवाद गरौं ।’

उनले संयुक्त राष्ट्र संघमा देश/राज्यका नाम उनीहरूको संविधान/राज्यप्रणाली अनुरूप हुने आम प्रचलन भएको भन्दै सोही अनुसार नेपालको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ राखिएको उल्लेख गरेका छन् ।

गत असोज ११ गते बसेको मन्त्रिपरिषद बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा मातहत निकायमा जारी परिपत्रबाट खुलासा भएको थियो ।

कानून मन्त्रालयबाट गत असोज २८ गते जारी परिपत्रअनुसार ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को स्थानमा ‘नेपाल’ मात्र लेख्नुपर्ने भनिएको छ ।

त्यसैगरी, अंग्रेजीमा ‘फेडेरल डेमोक्रेटिक रिपब्लिक अफ नेपाल’ लेख्ने गरेकोमा ‘एनइपीएएल’ मात्र लेख्ने क्याबिनेटबाट निर्णय भएको कानून मन्त्रालयको परिपत्रमा उल्लेख छ । मन्त्रिपरिषद्को उक्त निर्णयमा अन्य सरोकारवाला र संघियता पक्षधरले समेत विरोध जनाइरहेका छन् ।

प्रतिक्रिया