तिहारपछि खुल्दैछ लाइसेन्सको परीक्षा

काठमाडौं । सवारी चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षा तिहारपछि शुरु हुने भएको छ । कोरोना भाइरसको संक्रमणका कारण आठ महिनादेखि स्थगित सवारी लाइसेन्स परीक्षा सञ्चालन नहुँदा सेवाग्राही प्रत्यक्ष मारमा परेका थिए । त्यसैलाई मध्यनजर राखेर सरकारले पुनः परीक्षा सुचारु गर्न लागेको हो ।
यातायात व्यवस्था विभागले तिहारपछि चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षा सुचारु गर्ने गरी गृहकार्य अगाडि बढाएको छ । लकडाउन शुरु भएपछि वर्षौदेखि हुन नसकेको स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने काम विभागले यस अवधिमा सम्पन्न गरिसकेको छ ।
अब ट्रायल पास भएको एक साताभित्र नै स्मार्ट लाइसेन्स वितरण गर्ने तयारी विभागले गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार तिहारपछि स्वास्थ्य मापदण्ड पालना गरेर सवारी चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको छ । ‘आठ महिनायता लाइसेन्सको परीक्षा नहुँदा सवारी लाइसेन्स अनुमति लिन नपाएकाहरुले हैरानी खेपेका छन्, हामी तिहारपछि लाइसेन्स परीक्षा सञ्चालन गर्ने तयारीमा छौं’ उनले भने ।
कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै यातायात व्यवस्था विभागले गत चैत ७ गते लाइसेन्सको आवेदन लिने तथा लिखित र प्रयोगात्मक परीक्षा लिने काम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको थियो ।









