वीर अस्पतालका कर्मचारी आन्दोलनमा

काठमाडौं । वीर अस्पतालका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मीलाई पर्याप्त काेभिड सुरक्षा सामग्री वितरण गर्नुपर्ने भन्दै आज (बिहीबार) कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् ।

साथै खाइपाई आएको सेवासुविधा पनि तत्काल दिनुपर्ने उनीहरूकाे माग छ । अस्पतालका पदाधिकारीविरुद्ध आन्दोलन थालेका उनीहरुले हातमा कालो पट्टी बाँधेर अस्पतालमा बिहान एक घण्टा धर्ना दिएका थिए । अस्पतालले चैतदेखि हालसम्म कोभिड भत्ता, औषधि खरिद खर्च र सेवा विस्तार भत्ता तथा स्वास्थ्य सुरक्षाका सामग्री नदिएको उनीहरूकाे आराेप छ ।

हिजाे मात्रै वीर अस्पतालकाे इमर्जेन्सी विभागका १६ चिकित्सकहरूले सामूहिक राजीनामा दिएका थिए । ज्यालादारी भनेर दसैँतिहार भत्ता नदिएको, एक दिनको तलब कट्टा गरेर दिएको, उपयुक्त स्रोत सामग्री उपलब्ध नगराएको र चौबिसै घण्टा ड्युटीमा लगाउने गरेको उनीहरूकाे राजीनामापत्रमा उल्लेख थियाे ।

प्रतिक्रिया