भारतीय सेनाले स्वास्थ्य सामग्री दिँदा नेपालले के दियो ?

काठमाडौं । नेपाली सेनालाई भारतीय सेनाले स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले दुइटा फिल्ड अस्पताल स्थापनाको लागि एम्बुलेन्स, भेन्टिलेटर र अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

यता नेपाली सेनाका तर्फबाट प्रधानसेनापति पूर्णचन्द्र थापाले भारतीय सेनाको लागि स्वदेशमै बनेको एक लाख थान मेडिकल मास्क र शान्तिको प्रतीक भगवान बुद्धको प्रतिमा दिएका छन् ।

यसअघि प्रधानसेनापति थापा र भारतीय सेनाध्यक्ष नरवणेबीच शिष्टाचार भेटवार्ता भएको थियो । भेटका क्रममा नेपाली सेनाका प्रधानसेनापति र मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्षबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको थियो ।

नरवणेले आज बिहान सैनिक मञ्चको वीर स्मारकमा पुष्पगुच्छा चढाई वीर शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
त्यसपछि नरवणेले जङ्गी अड्डामा सम्मान गारदको निरीक्षण पनि गरेका थिए । सो अवसरमा उनले जङ्गी अड्डा प्राङ्गणमा ओखरको बिरुवा रोपेका थिए ।

आज साँझ भारतीय सेनाध्यक्ष नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया