मातृका यादव भन्छन्- ‘संघीय गणतन्त्र नेपाल’ लेख्न रोक लगाउनु संघीयताविरोधी कदम

जनकपुरधाम । सत्तारूढ नेकपाका स्थायी कमिटी सदस्य मातृका यादवले नेपालको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णयकाे विराेध जनाएका छन् ।

उनले एक विज्ञप्ति जारी गर्दै सरकारकाे उक्त कदम संघीयता विराेधी भएकाे टिप्पणी गरेका छन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थानमा ‘नेपाल’ मात्र लेख्नु भनेर मातहतका निकायहरूमा पत्राचार गर्नु देश संविधान अनुसार चलाउनुको सट्टा व्यक्तिको इच्छ्या अनुसार चलाउन खोज्नु महान् जनयुद्ध, संयुक्त जनआन्दोलन र मधेश आन्दोलनका साथै हजारौं महान् शाहिदहरूको अपमान र संघीयता विरोधि कदम भएको भन्दै उनले सरकारकाे उक्त निर्णयकाे भर्त्सना समेत गरेका छन् ।

महान् शाहिदहरूको सपना, क्रान्तिकारी पार्टीहरूको प्रतिवद्धता र उत्पीडित वर्ग तथा जनसमुदायको चाहना अनुसार स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पक्षमा उभिन अपिल गर्दै यस्ता असंवैधानिक निर्णय तुरुन्त सच्याउन माग समेत गरेका छन् ।

असोज ११ गते बसेको मन्त्रिपरिषद बैठकले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्ने निर्णय गर्नु र कानुन मन्त्रालयबाट गत असोज २८ गते ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को स्थानमा ‘नेपाल’ मात्र लेख्नु भनेर मातहतका निकायहरूमा पत्राचार गरेकाे थियाे । सरकारकाे उक्त निर्णयकाे अहिले विराेध भइरहेकाे छ ।

प्रतिक्रिया